 
                            धनगढी-कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–११ र १२ मा खानेपानीका लागि विभिन्न संघ संस्थाले करोडौंको लगानी गरे पनि पानीको समस्या भने पुरानै रहेको छ।
साविकको ओलानी गाविस ४, ५ र ६ नम्बर वडामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले दर्जन बढी कुँवा तथा सोही अनुपातमा ट्याङ्की निर्माण गरी धारा वितरण समेत गरेको भए पनि पानीका लागि भौतारिनु पर्ने बाध्यता भने पहिलेकै जस्तो भएको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार सरकारी तथा गैर सरकारी संस्थाबाट आउने अयोजनामा राजनीति हुनु र बनेका संरचनाको संरक्षण गर्ने जिम्मेवार निकाय नहुँदा योजना बन्दै बिग्रिदैं जाने गरेका छन्। पूर्व वडा अध्यक्ष समेत रहेका बासुदेव पुरीले पानीलाई मागी खाने भाडाँको रुपमा प्रयोग गरिनु सबैभन्दा ठूलो समस्या भएको बताए।
‘पानीको समस्या छ, भन्दै टाठाबाठा र नेताहरुले सरकारी तथा गैर सरकारी संस्था संग योजना माग गर्छन्’ उनले भने–‘तर काम राम्रो हुँदैन, बनाएका योजनाको पनि संरक्षण गर्ने निकाय नहुँदा ती योजना अलपत्र परेर जिर्ण बन्ने गरेका छन्।’
‘हाल सम्म ओलानीमा कम्तिमा २० खानेपानीका टयाङ्की निर्माण भएका छन्’ उनले भने–‘त्यतीनै संख्यामा कुँवा पनि निर्माण भए, तर ओलानीवासी खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन्।’ हालसम्म निर्माण भएका योजना मध्य एक दुई वटा बाहेक अरु सवै योजना जिर्ण भई पानी नआउने भएका उनले बताए।
ओलानीमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, वर्ल्ड भिजन, नेवा लगायतका संघ संस्थाले पानीमा लगानी गरेको उनले बताए। हाल गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा रहेको गौडी र रेगुलेटर क्षेत्रमा पानीको सवै भन्दा बढी समस्या भएको उनले बताए।
स्थानीय ममता देवी विकले गाउँमा हरेक बर्ष कुनै न कुनै योजना आउने गरेका भएपनि आफुहरुले सहजै पानी प्रयोग गर्न कहिल्यै नसकेको बताइन्। ‘योजना आएका छन् भनेर हरेक बर्ष सुनिन्छ’ उनले भनिन्–‘तर पानी आयो भन्ने सुन्न पाएको छैन, कहाँबाट योजना आउँछन, कसले बनाउँछ अत्तोपत्तो हुँदैन।’
खानेपानी आउँछ भन्दै एक दुईपटक घरघरमा पाइप पुर्याएको भए पनि पानी भने नआएको उनले बताइन्। योजना नबन्दै विवाद हुने, राजनीतिक भागबण्डा, स्थानीयको असहयोगका कारण हरेक योजना नबन्दै बिग्रिने गरेको उनले बताइन्।
‘कसैले पनि निस्वार्थ भावनाले योजना दिएको छैन’ उनले भनिन्–‘कसैले मेरो पार्टीले दिएको हो भन्छ, अनि कसैले मैले ल्याएको भन्दै दावि गर्छन, त्यसैबाट समस्या सिर्जना हुन्छ।’ पानीको नाममा हुने गरेको राजनीतिका कारण ओलानीवासीले पानीको समस्या झेल्नु परेको उनले बताइन्।
वडा नमबर–१२ का स्थानीय लालबहादुर धामीले बनेका योजनाको संरक्षण गर्ने निकाय नहुँनु सबैभन्दा ठूलो समस्या भएको बताए। ‘खानेपानीका योजना बनाउने संस्था काम सकिएपछि फर्केर आउँदैनन्’ उनले भने–‘बनेका योजनाको संरक्षण गर्नुपर्छ भन्ने धारण स्थानीयमा पनि छैन, जसले गर्दा योजनाहरु दिगो हुन सकिरहेका छैनन्।’
उनले स्थानीयको रिसिबीका कारण आफै आफैमा पनि पाइप फुटाएर योजना असफल बनाउने गरेको बताए। ‘हाल केही स्थानमा बोरिङ मार्फत पानी निकालेर वितरण गरिएको छ’ उनले भने तर त्यसको मुल्य अत्याधिक छ, सवै स्थानीयले किनेर खान पनि सक्दैनन्।’ बिहान र वेलुका मात्रै वितरण हुने बोरिङको पानी खान एक घरले मासिक ३ तिर्ने गरेको उनले बताए।
गोदावरी नगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष शिब बहादुर बिकले भने ओलानीमा रहेको खाने पानी समस्या छिट्टै समाधान हुने दाबी गरे। वडामा निर्माण भइरहेका दुई वटा खानेपानीका ठुला योजना निर्माणको अन्तिम चरणमा रहेका कारण अबको १ बर्ष पछि ओलानीमा खानेपानीको समस्या नदेखिने अध्यक्ष बिकले दावी गरे।
‘वडामा साढे दुई लाख घनमिटर क्षमताका दुई वटा योजना निर्माणको अन्तिम चरणमा रहेका छन्’ उनले भने–‘ती योजना ढिलोमा १ बर्षभित्र निर्माण भइसक्ने छन्, तयस पछि यो समस्या सधैंका लागि अन्त्य हुने छ।’
यसअघि विभिन्न व्यक्तिले व्यक्तिगत प्रचार प्रसार बढाउन तथा विभिन्न प्रालोभन सहित योजना ल्याए पनि दिगो हुन नसक्दा ओलानीमा खानेपानीको समस्या समाधान हुन नसकेको उनले स्वीकारे।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































