
धनगढी – अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा मंगलबार राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।
मंगलबार मध्यराति राती मेयर पदम बोहोराले चढ्ने बा १ झ ३३९४ नम्बरको जीपमा अज्ञात समूहले आगजनी गरेको हो ।
कार्यालय प्राङगणमा राखिएको गाडी आगजनीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले राती करिव दुई बजेतिर गाडीमा आगजनी भएको बताए । आगो लागेपछि गाडी लगातार पट्केको आवाज आएपछि प्रहरीलाई तुरुन्तै आगो नियन्त्रणमा लिन समस्या भएको शाहीले जानकारी दिए ।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।
मङ्गलैन बजारका स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए ।
रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए ।
सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उहाँले बताए ।
नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो ।
गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।