
धनगढी– साँझा विवेकशील पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विश्वास गरे अबको २५ वर्ष भित्र देशमा आमूल परिवर्तन गर्ने दावी गरेका छन्।
जुनसुकै पार्टीमा आवद्ध भएपनि भ्रष्टाचार विरुद्धको अभियानमा नलागे देश नै सकिने स्थिति आएको उनको भनाइ छ।
साझा विवेकशील पार्टीले सुदुरपश्चिम प्रदेशबाट सुरु गरेको भ्रष्टाचार विरुद्धको महाअभियानका क्रममा बुधबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजना गरिएको कोण सभामा बोल्दै उनले मानिसबाट गल्ती हुने प्रक्रिया सामान्य भए पनि आफ्नो पार्टीले बेईमानी नगर्ने बताए।
कोण सभामा बोल्दै साझा विवेकशील पार्टीका प्रवक्ता डा. सुर्य राज आचार्यले सरकारले देशमा विकास होइन देशलाई लुटीरहेको बताए। उनले सुदूरपश्चिम प्रदेशमा ठुला आयोजनाहरु रहेपनि राजनीतिक नेताहरुले त्यसलाई अलपत्र पारेको आरोप लगाए। उनले भने,‘आफू आफ्नो परिवार र कार्यकर्तालाइ नै बनाउन नेताहरु लागि परेका छन।’
अहिलेका पार्टीहरु आलोपालो गरी भ्रष्टाचार गरिरहेको उनको भनाई छ। कार्यक्रममा प्रदेश मामिला प्रमुख निर्मला बागचन्दले भ्रष्टाचार निकै बढेकाले यसका विरुद्ध सबै लाग्नु पर्ने बताईन्।
कैलालीको टीकापुरबाट सुरु भएको महाअभियान अन्तर्गत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरी १२ गते अछामको कमलबजार र विनायकमा कोणसभा गरी समापन गरीने साझा विवेकशील पार्टीले जनाएको छ।