
पोखरा– नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्ध अनेक तरहका प्रहार सुरु भएको बताएका छन्।
शक्रबार प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले वैकल्पिक शक्तिको रुपमा उदायको समाजवादी पार्टी गठनपछि विश्वव्यापी रुपमा तरङ्ग आएको बताए।
सरकारका उप–प्रधानमन्त्री तथा तत्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबिच वैशाख २३ गते एकिकरण भएको थयो।
उनले विचार मिल्ने दुई पार्टीको गठनले नेकपा र कांग्रेस अत्तालिएको बताए। ‘तरङ्ग स्वाभाविक हो। प्रहार पनि अपेक्षित नै छ,’ उनले भने, ‘हिजो बन्दुकसँग खेलेको मान्छे शब्दसँग को डराउँछ? पार्टीको प्रमुख नै उन्नत समाजवादतर्फ लक्षित छ। प्रहारलाई प्रतिरोध गर्न सक्षम छौँ।’
वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामे मात्रैको कम्युष्टि भएको र वास्तविक चरित्र कमाउनिष्ट भएको आरोप लगाए। पार्टीको सिद्धान्तप्रति भ्रमको खेती गर्ने जो कोहिलाई मुखभरीको जवाफ दिन समेत उनले कार्यकर्तालाई आग्रह गरे।
पार्टी उन्नत समाजवादतर्फ अग्रसर भएको सुनाउँदै अलोकतान्त्रिक र अधिनायकवाद सह्य नहुने उनले प्रष्ट पारे।
कांग्रेसमा कोइराला, देउवा र पौडेल, नेकपामा माले, एमाले, माओवादी जस्तो गुट उपगुट आफ्नो पार्टीमा नभएको उनले दावी गरे।
आगामी ५० वर्षपछि यही समाजवादी पार्टीले पहिचान सहितको संघीयतालाई एकतावद्ध गर्ने उनको दाबी छ। भ्रष्टचारले कांग्रेस र कम्युनिष्ट कसैलाई बाँकी नराखेको उनले बताए।
संविधान संशोधन प्रमुख मुद्दा भएको अर्का अध्यक्ष उपेन्द्र यादवले बताए। विगतमा सरकारको नेतृत्वकर्ताले संविधान संशोधन गर्ने भनी सहमति गरेपनि भइरहेको विलम्ब प्रति सदन र सडकबाट आन्दोलन थाल्ने उनले बताए।
देशभित्रैका नागरिकलाई पहिचानसहितको सम्मान दिन संविधान असमर्थ रहेकोले संशोधनको मुद्दा पार्टीले जोडबलका साथ उठाइरहने उनको भनाई थियो।
मुलुकभित्रै अपहेलित हुनुपर्ने स्थितीको अन्त्य गर्न पार्टीले अल्पसंख्यकहरुको आवाज बोकेर हिडेको बताए। संविधान संशोधन नभए सरकार छाड्न समेत पछि नपर्ने उनको भनाइ छ।