
पोखरा –प्रचारप्रसार प्रयोजनका लागि पोखरा महानगरक्षेत्र भित्र राखिएका होर्डिङ बोर्ड हटाउन पोखरा महानगरपालिकाले सूचना जारी गरेको छ । १५ दिनभित्र सार्वजनिक तथा निजी घरमा राखिएका होर्डिङ बोर्ड हटाउन महानगरले गत बिहीबार निर्देशन जारी गरेको हो ।
परम्परागत बोर्ड हटाएर डिजिटल बोर्ड राख्न महानगरले २०७५ चैत २ गते निर्णय गरेको थियो ।
पोखराकै परिचय एड्भर्टाइजिङका सोभित बस्यालसमेतले उच्च अदालतमा सम्पत्तिको हकमा असर पुर्याउने गरि महानगरपालिकाले सूचना पठाएकाले निजी सम्पत्तिमाथिको हस्तक्षेपकारी नीति रोकी पाऊँ भन्दै रिट दायर गरेका थिए ।
अदालतमा केही समय मुद्दा कारवाही प्रक्रियामा रहँदा महानगरको होर्डिङ बोर्ड हटाउने निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
उद्योग धन्दा व्यवसाय गर्ने हक खोसिएको दाबी रिट निवेदनमा गरिए पनि त्यस्तो अवस्था नदेखिएको भन्दै अदालतले रिट खारेज गरिदिएको थियो । रिट खारेज पछि होर्डिङ बोर्ड हटाउन महानगरलाई बाटो खुलेको छ ।
१५ दिनभित्र हटाउन अटेर गरे महानगरले हटाउने बिहीबार जारी गरेको सूचनामा बताइएको छ । हटाउन लाग्ने शूल्क सम्बन्धित व्यक्तिसँग असुल्ने महानगरका सूचना अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।
पोखरा महानगरले ७१ सालमा पोखरा उद्योग वाणिज्य संघसँग ५ वर्षका लागि होर्डिङ बोर्डको सम्झौता गरेको थियो । त्यसबेला महानगरले उवासंघसँग वार्षिक २६ लाख रुपैयाँ पाउनेगरी सम्झौता भएको हो ।
उवासंघले आफूले काम नगरी अर्कै कम्पनीलाई जिम्मा दिएर रकम असुल्दै आएको थियो । व्यवस्थापनको जिम्मा लिएको संघले काम नगरी अर्कैलाई देखाए पनि राम्रो काम नभएको भन्दै सर्वत्र आलोचना भइरहेको थियो ।
लिएको सम्झौता अन्य कम्पनीलाई जिम्मा दिएर करोडौं उठाइरहेको थियो । तर, व्यवस्थित थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो ।
महानगरले सार्वजनिक निजी साझेदारीमा जाने भन्दै उवासंघसँगको सम्झौता रद्द गर्ने निर्णय १४ महिना अघि नै गरेको थियो ।
महानगरका अनुसार वार्षिक २६ लाख पाउनुपर्ने गरि भएको सम्झौताले घाटा पुगेको र हाल एक करोड रुपैयाँ राजश्व पाउनेगरी डिजिटल विज्ञापनका लागि टेन्डर निकालिएको हो । यसअघि उवा संघसँग भएको सम्झौताबाट महानगरले करोडौँ गुमाउँदै आएको थियो ।
उवा संघले आफूले पाएको सम्झौता अर्को छाया एड्भर्टाइजिङ कम्पनीलाई ठूलै रकम पाउने सर्तमा जिम्मा दिएको थियो । उक्त कम्पनीले समेत ठूलै रकम पाउने सर्तमा अन्य कम्पनीलाई ठेक्का दिँदै आएको थियो ।
पोखराकै परिचयले आकृति एडभर्टाइज्मेन्टलाई वार्षिक करिब २३ लाख हाराहारीमा तिर्दै आएको बताएको छ ।