
धनगढी – बढेको गर्मीसँगै सुदूरपश्चिम प्रदेशको ४० प्रतिशत वन क्षेत्रमा आगलागी हुँदा धेरै मूल्य बराबरको प्राकृतिक श्रोत साधन नष्ट भएको छ ।
गर्मीयाम सुरु भएसँगै सुरु भएको आगलागीका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा रहेको कुल २८ लाख ४ सय ३ दशमलव २८ हेक्टर क्षेत्रफल वन मध्य ४० प्रतिशत क्षेत्रमा आगलागी भएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालय जनाएको छ ।
प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर छ ।
बैशाखको पहिलो साताबाट सुरु भएको डढेलो निरन्तर बढ्दै गएको कार्यालयले जनाएको छ । खास गरी तराई क्षेत्रको चुरे सँगै पहाडी भु–भागमा रहेको वन क्षेत्रमा आगलागी हुँदा प्राकृतिक श्रोतसाधन नष्ट हुनुका साथै जंगली जनावरको बासस्थान समेत गुम्ने खतरा बढेको कामु वन निर्देशक विष्टले बताए ।
प्रदेशका विभिन्न स्थानमा लागेको डढेलो निभाउने जनशक्ति नै नहुँदा आगो नियन्त्रण भन्दा बाहिर रहेको उनले बताए ।
खासगरी जंगलमा जथाभावी आगो बालेर छोड्ने, चुरोट खाएर सलाईका काँटी ननिभाएरै फाल्ने, चुरोटका ठुटा जथाभावी फाल्ने, वनभोजमा जाँदा आगो ननिभाएरै फर्किने जस्ता मानवीय क्रियाकलापका कारण डढेलो फैलिने गरेको उनले बताए ।
सुख्खायाममा आगोको सानो श्रोतले पनि डढेलोको विशाल स्वरुप लिने गरेको उनले बताए ।
‘डढेलो लाग्दा ढलापडा रुख नासिने समस्या मात्रै हुँदैन’ उनले भने– ‘माउ रुख पनि डढ्ने गर्दछन् जसका कारण पुनः उत्पादन हुने विरुवा पनि बिग्रिने हुँदा आगलागीको दिर्घकालिन समस्या बढी हुन्छ ।’
दुई साता अघिदेखि लागेको कैलालीको चुरे क्षेत्रको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण चुरे क्षेमा मात्रै सयौ सामुदायिक वन सखाप भएका डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।
डिभिजन वन कार्यालयका अनुसार गोदावरी नगरपालिकाको पहाडी भुभाग, चुरे र मोहन्यालका सयौं सामुदायिक वन, बाह्रवन र राष्ट्रिय वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
मानवीय लापरवाहीका कारण वन क्षेत्रमा आगलागी हुने गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख अमर बुलनले बताए । ‘अनजानमा होस्, या जानीजानी मानिसले गर्ने क्रियाकलापका कारण वन क्षेत्रमा आगलागी हुने गरेको देखिन्छ’ उनले भने– ‘जसका कारण हरेक बर्ष वन क्षेत्र विनास हुँदै गएको छ ।’ ‘वनभोजमा जाँदा होस या चुरोट खाएको ठुटो फाल्दा अथवा सलाईको काँटी ननिभाएरै फाल्दा पनि सुख्खायाममा त्यसले डढेलो निम्त्याउने गरेको छ’ डिभिजन प्रमुख बुलनले भने– ‘कतिपय अवस्थामा नयाँ पालुवा पलाउने र घाँस राम्रो हुने लोभले पनि मानिसले जानीजानी जंगलमा आगो लगाउने गरेका छन् ।’
यसै गरी चौधरीहरुले जाँड बनाउन प्रयोग गर्ने मौवाको फूल टिप्न पनि जंगलमा आगो लगाए छोड्ने गरेको उनले बताए ।
डढेलोले वनमा रहेका साना ठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पुरै खरानी भएका चुरे गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष प्रेम साउँदेले बताए ।
सामुदायिक वनका पदाधीकारीसंग समन्वय गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरेको भए पनि हालसम्म नियन्त्रणमा भने नआइ सकेको उनले बताए ।
वडा नम्बर–६ मा मात्रै १० वटा सामुदायिक वन रहेकोमा सवै सामुदायिक वनमा डढेलो लागेको उनले बताए ।
यसैगरी चुरेकै वडा नम्बर–१ का वडा अध्यक्ष हुकुम बोहराले पनि आगलागीका कारण सो वडाका १७ वटा सामुदायिक वन नष्ट भएको बताए । डढेलोका कारण १ घर पनि क्षति हुनुका साथै स्थानीयले लगाएका फलफुल तथा तरकारीका बोट पनि डढेर नष्ट भएको उनले बताए ।
वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर शाहले पनि सो वडामा पर्ने १६ सामुदायिक वन डढेलोका कारण पुर्ण रुपमा नष्ट भएको बताए । डिभिजन बन कार्यालय कैलालीका अनुसार यस वर्ष बसन्ता, भारताल, बाह्रवन तथा चुरे क्षेत्रका बनमा व्यापक डढेलो लागेको छ । तराईको समथर भू–भाग भन्दा कैलालीको पहाडी क्षेत्रमा बढी डढेलो फैलिएको डिभिजन कार्यालय प्रमुख बुलनले बताए ।
ठूला र घना वन जंगलका साथै प्रायः सबै बनमा डढेलो लागेको उनले बताए ।
डढेलोका कारण वन्यजन्तु, पंक्षीको वासस्थान नष्ट हुनुका साथै धेरै वन्यजन्तु आगलागीमा परेर मरेको हुन सक्ने उनले बताए । उनले भने– ‘वन डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन्, डढेलोकै कारण अमुल्य जडिबुटी पनि खरानीमा परिणत हुने गरेको छ ।’
क्षतिको एकिन मुल्यांकन गर्ने प्रविधि नभए पनि लगातारको वन डढेलोका कारण करौडौं रुपैया मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षती भएको अनुमान गरेको डिभिजन प्रमुख बुलनले जानकारी दिए ।