
पोखरा-पोखरा ९, पृथ्वीचोक निवासी रोशन गुरुङले आमाको नामबाट नागरिकता पाएका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार उनकी आमा कन्याकुमारी गुरुङको नामबाट वंशजको आधारमा नागरिकता दिलाएको हो।
प्रशासकीय अधिकृत ऋषिराज आचार्यले नागरिकता प्रमाणित गरेका छन्।
नागरिकता पाएपछि रोशनले खुसी व्यक्त गरे।‘केही काम गर्न पाएको थिएन,’ उनले भने, ‘अब सजिलो हुने भयो।’ १८ वर्षीय रोशन एसइईसम्म पढेका छन्।जापानी भाषा सिक्दै गरेका उनले मिलेसम्म विदेश जाने धोको रहेको सुनाए।
आमाको नामबाट नागरिकता पाउँ भन्दै रोशनले जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा २०७५ कात्तिक ३० गते रिट दायर गरेका थिए।
रिट उपर उच्च अदालतले वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय कास्कीलाई परमादेश जारी गरेको थियो।न्यायाधीशद्वय जीवनहरि अधिकारी र विनोदप्रसाद शर्माको संयुक्त इजलासले आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो। अदालतको आदेश पछि उनलाई आमाको नामबाट नागरिकता पाउन सहज बनेको हो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परार्मशमा उनले बाबु बेपत्ता भएका कारण आमाको नामबाट नागरिकता पाउँ भनी गुरुङले ०७४ कात्तिक १२ गते जिप्रका कास्कीमा निवेदन दिएका थिए।प्रशासनले बाबुको नागरिकता नभएको भन्दै निवेदन फिर्ता पठाएको थियो।
नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था छ।
धारा १२ मा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने भनिएको छ।
नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबुआमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ।