
धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ को वडा कार्यालको गेट अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीका अनुसार वडा कार्यालयको गेटमा बोरामा बेरेर राखेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु विष्फोटक पदार्थ हुने सक्ने भन्दै सो स्थान वरपर आवत जावत बन्द गरेको उनले बताए ।
तेघरी आर्मी ब्यारेकमा रहेको बम डिस्पोजल टोली केहीबेरमा सो स्थानमा पुग्ने प्रहरी निरीक्षक डाँगीले बताए । बन्दका कारण कैलाली लगायत सुदूरपश्चिमका सबै जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । विद्यालयहरु पूर्ण रुपमा बन्द भएका छन् । बजार क्षेत्रका पसलहरु बन्द छन् ।
मोटरसाइकल, साइकल र रिक्सा बजारमा फाटफुल सञ्चालनमा आएपनि ठूला सवारी साधन पूर्ण रुपमा बन्द रहेका छन् । बन्दका कारण धनगढी, अत्तरिया, महेन्द्रनगर बसपार्कमा सयौं यात्रु अलपत्र परेका छन् ।
प्रहरी निरीक्षक डाँगीका अनुसार पूर्वी रुटबाट सुदूरपश्चिम भित्रिने ठूला सवारी साधनलाई राति देखि बिहान ८ बजे सम्म स्कटिङ मार्फत गन्तव्य स्थानमा पुर्याइएको छ ।