
धनगढी-धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई भाडाको बिषयमा विवाद हुँदा सवारी चालकले कुटपीट गरेका छन्।
शुक्रबार दिउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहराले महिलालाई दुर्व्यवहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा महिलालाई अपशब्द प्रयोग गरेपछि विवाद भएको बताए।
विवादसंगै चालक बोहोराले लक्ष्मी धनाडीलाई कुटपिट गरेको प्रहरी उपरिक्षक आचार्यले बताए। लगत्तै कुटपिट गर्ने चालकलाई नियन्त्रणमा लिइएको पनि उनले जानकारी दिए।
धनगढी देखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैयाँ भाडादर रहे पनि चालकले २ सय रुपैयाँ मागेको र महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको प्रहरी उपरिक्षक आचार्यले बताए।
महिलाले दिएको उजुरीको आधारमा प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।