
धनगढी-अपराध अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दुई दिने दोस्रो प्रादेशिक सम्मेलन शुक्रबारबाट धनगढीमा सुरु भएको छ।
‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ शुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ।
सम्मेलनको महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता खगराज पौडेलले उद्घाटन गरे। सो अवसरमा बोल्दै नायव महान्यायाधिवक्ता पौडेलले फौजदारी न्याय प्रशासनमा अनुसन्धान पश्चात हुने अभियोजनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच हुने सहकार्य र समन्वयले थप सहयोग पुर्याउने बताए।
पौडेलले अनुसन्धान तथा अभियोजनमा देखिएका कमिकमजोरीहरु हटाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले अनुसन्धानकर्ता र अभियोजनकर्ताको समन्वयले मात्र अनुसन्धान सफल नहुने बताउँदै ‘विज्ञ चिकित्सकहरु समेतको भौतिक प्रमाण संकलन महत्वपूर्ण भूमिका आवश्यक छ।’
विगतमा भएका सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच न्याय सम्पादनमा महत्वपूर्ण सफलताहरु प्राप्त गर्न सहज भएको समेत बताउँदै उनले यस सम्मेलनमा आएका राय सुझाव केन्द्रीय समन्वय समितिमा समेत छलफल गरिने बताए। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ठूले राईले नेपाल प्रहरीको आयोजना र पहलमा भएका सम्मेलनहरुले प्रहरी, सरकारी वकिल, मेडिकल अधिकृत, अदालत एवं सम्बन्धित निकायहरुबीचको समन्वय र सहकार्य मजबुत भई फौजदारी न्याय निरुपणको कार्य सहज, चुस्त र प्रभावकारी हुँदै गएको बताए।
अपराध संहिताहरुको कार्यान्वयन अन्तर्गत अनुसन्धान पक्षलाई थप व्यावसायिक र वस्तुनिष्ठ बनाउनको लागि दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ३१ हजार ३ सय ६३ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण प्रदान गरिएको राईले बताए।
उनले समुदाय–प्रहरी साझेदारी अभियान मार्फत मुलुकभर नागरिक प्रहरी सम्बन्धको बलियो संयन्त्र खडा भई यसबाट अपराध अनुसन्धान र अभियोजनमा पनि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा लिएको बताए।
प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरीलाई अनुसन्धानमा साधन स्रोत सम्पन्न र वैज्ञानिक बनाउनको लागि विधिविज्ञान प्रयोगशालाहरुलाई प्रदेश स्तरसम्म बिस्तार, केनाइन शाखाको विस्तार, अनुसन्धानमा दक्ष र प्राविधिक जनशक्ति तयार पार्ने, जनशक्ति थप गर्ने तालिम प्रदान गर्ने जस्ता कार्यहरु भइरहेको बताए।
५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले स्वागत मन्तब्य राख्दै सम्मेलनको उद्देश्यबारे प्रकाश पारेका थिए।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार काठमाडौँको सहकार्यमा ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्विम प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सहभागितामा उक्त दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको हो।
शनिबार सम्पन्न हुने सम्मेलनमा उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरका सहन्यायधिवक्ता, न्यायाधिवक्ताहरु, विज्ञ, चिकित्सक, संचारकर्मी लगायतको उपस्थिति रहेको छ।