
धनगढी– बाजुराको बुढीनन्दा नगरपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायालाई सुत्केरी व्यथा लागे पनि बच्चा जन्माउन नसकेपछि शनिबार उपचारको लागि हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुत्केरी व्यथा लागेर शुक्रबार राती कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी रोकायाको शनिबार दिउँसोसम्म पनि बच्चा नजन्मिएपछि अवस्था बिग्रिएको थियो। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश चौधरीले रमिलाको पेटमा भएको बच्चाले दिसा खाएको र टाउको पनि ठूलो भएका कारण उनको ज्यान जोखिममा परेको बताए। बाजुरामा स्त्रीरोग विशेषज्ञ नभएका कारण कोहलपुर रेफर गरिएको उनले बताए।
सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको पहलमा उनलाई सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको मन्त्रालयले जनाएको छ। मन्त्री सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीका अनुसार समिट एयरको हेलिकप्टर मार्फत शनिबार दिउँसो ती गर्भवती महिलालाई कोहलपुर ल्याईएको हो।
सुत्केरी हुन नसकेको खवर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको निर्देशन तथा पहलमा हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको जिल्लामा उपचार गर्न सम्भव नभएकाले नेपालगञ्ज पठाईएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए।
सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीको हेलिकप्टर मार्फत बाजुराबाटै उद्धार गरिएको छ भने एक जनाको बझाङबाट उद्धार गरिएको छ। पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले विकटमा रहेका बिरामी र सुत्केरीको हवाई उद्धार गरीरहेको छ।
स्वास्थ्य सेवाबाट टाढा रहेका र आपतकालीन सेवा दिनका लागि हवाई उद्धार गर्ने गरेको मन्त्रालयले जनाएको छ।