
धनगढी– हावाहुरी आएको नौं दिनसम्म पनि धनगढीका अधिकांश ठाउँमा विद्युत सेवा सुचारु हुन सकेको छैन।
दिन प्रतिदिन बढ्दै गरेको गर्मीले जनजीवन प्रभावित भैरहेका वेला विद्युत सेवा पनि नहुँदा स्थानीयको जनजीवन झनै कष्टकर बनेको छ।
जेठ २३ गते आएको हावाहुरीले ढालेका विद्युतका पोल अझै नसारेको स्थानीयले बताएका छन्। विद्युत प्राधिकरणले धनगढी, अत्तरिया लगायत बजार क्षेत्रमा मात्रै विजुली बत्ती मर्मत गरेर ठुलावडाको चाकरी गरेको र भित्री वस्तीमा भने अझै विद्युत सुचारु हुन नसकेको भन्दै स्थानीयवासी आक्रोसित बनेका छन्।
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा अधिकांश क्षेत्र अन्धकार छ। धनगढी वडा नम्बर–३ बोराडाँडीका नन्दुसिंह ऐरीले भने, ‘विद्युत छिटो सुचारु होस् भनेर स्थानीयले नै विद्युत पोल ओसार्ने देखि खाल्डा खन्ने काम गरे, तार जडानका लागि गुहार्दा प्राधिकरणका कर्मचारीले वेवास्ता गर्न थालेका छन्।’ आज–भोली भन्दै कर्मचारीले स्थानीयलाई ठग्ने गरेको उनले बताए।
‘४३ डिग्री सम्म तापक्रम हुँदा रात भर सुत्न सकिदैन’ वडा नम्बर–१२ जुगेडाका भवराज मिश्रले भने,‘गर्मिका कारण बालबालिका रातभर कराउँछन्, विद्युतका कर्मचारी के गरेर बसेका होलान्?’ उनले भनसुन र पहुँचका भरमा विद्युत प्राधिकरणले काम गर्ने गरेको आरोप लगाए।
धनगढी वडा नम्बर–१३ कैलाली गाउँका स्थानीय विनोद भट्टले विद्युत सुचारुको मागगर्दै प्राधिकरणमा जाँदा कर्मचारीले उल्टै थर्काउने गरेको बताए। ‘आफ्ना पिडा सुनाउँन खोज्दा उल्टै कर्मचारी कराउन थाल्छन्’, उनले भने, ‘यता विद्युत नहुँदा जनजीवन अस्तव्यस्त बनेको छ।’
‘बिहानको समयमा बालबालिकाले स्कुल जानु पर्छ’, उनले भने,‘गर्मीका कारण रातभर सुत्न सक्दैनन्, दिनमा पनि विद्युत नभएकै कारण विद्यार्थीको पढाई अस्तव्यस्त बनेको छ।’, विद्युत नहुँदा धान, गहुँ कुटानी–पिसानी गर्ने मिल समेत बन्द छन्। जसका कारण भित्री वस्तिमा कुटानी–पिसानी कार्य समेत प्रभावित बनेको स्थानीय रामचन्द्र शर्माले बताए।
धनगढी उपमहानगरपालिका–६ जाँई, मटियारी लगायतका ठाउँमा पनि विद्युत सुचारु हुन सकेको छैन। जाँईका भेष पाठकले भने,‘ ढलेका पोल समेत उठाउन कोही आएको छैन। नौं दिन भयो बत्ति छैन, गर्मीले दिन काट्न नै समस्या छ, कहिले बन्ने हो केही अत्तोपत्तो छैन।’
विद्युत प्राधिकरण वितरण शाखा धनगढी प्रमुख धिरेन्द्र कुमार यादवले विद्युत सुचारु गर्न तीब्र रुपमा काम भईरहेको बताए। उनले भने,‘कम बिग्रिएका ठाउँमा छिटो सुचारु गर्यौँ, धेरै क्षति भएका ठाउँमा काम गर्दैछौँ।’ उनले प्राविधिकको पनि अभाव भएकाले काम गर्न केही समस्या भएको बताए।
विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाले हावाहुरीका कारण कैलाली कञ्चनपुरमा गरी एक हजार भन्दा बढी पोलमा क्षती भएको जनाएको छ।
क्षेत्रिय कार्यालयका प्रमुख सतिश कुमार कर्णले शहरी क्षेत्रमा विद्युत सुचारु भएपनि सबै ग्रामीण क्षेत्रमा बिद्युत सुचारु गर्न अझै एक साता लाग्ने बताए। उनले भने,‘काम तीब्र रुपमा गरिरहेका छौँ, धेरै ठुलो क्षती भएकाले समय लागेको हो।’