
पोखरा– पृथ्वी राजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एक मात्र नाका विजयपुरमा बेलिब्रिज (पुल) निर्माणको काम धमाधम अघि बढाइएको छ।
विजयपुरमा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राखिन लागिएको हो।
सडक डिभिजन पोखरा मार्फत विजयपुरमा बेलिब्रिज निर्माणका लागि ठेकेदार चयनको प्रक्रिया गत चैतबाट सुरु गरिएको थियो। हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माण हुने छ। बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा/जेजे (जेभी) ले पाएको छ। सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम अघि बढिसकेको हो। आउँदो असार मसान्त भित्रमा नै निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको छ।
२ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको सडक डिभिजन पोखराका इन्जिनियर आशिक रिजालले जानकारी दिए।
बर्खालाई मध्यनजर गर्दै समयसीमा भित्र काम सक्न कम्पनीले तदारुकताका साथ काम गरिरहेको उनले बताए। ‘पुल फिटिङका लागि महत्वपूर्ण काम तलबाट बेसमेन्ट उठाउन ‘एबुटमेन्ट’ निर्माणको काम भइरहेको छ’, उनले भने, ‘आकाशे पानीले समस्या पारेन भने समयमै सक्ने तयारी छ।’
पूर्वको इटहरी सडक डिभिजन अन्तर्गत थन्किएको बेलिब्रिजका सामानहरु विजयपुरमा ल्याई फिटिङ गरिन लागिएको इन्जिनियर रिजालले जानकारी दिए। ठेकेदार कम्पनीले आवश्यक संरचना तयार गरी बेलिब्रिजका सामान ढुवानी र फिटिङ गर्ने उनले बताए।
बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो। विजयपुरमा राखिने पुलको सामग्री पूर्वका जिल्लामा प्रयोगमा आइसकेपछि झिकिएको थियो।
सडक अन्तर्गत उक्त सामग्री भएकाले सयमसीमा भित्रमा नै विजयपुरमा ल्याई फिटिङ सकिने साइट निरीक्षणमा खटिएका इन्जिनियर रिजालले स्पष्ट पारे।
२ लेनमा ५० मिटर लम्बाईको बेलिब्रिज निर्माण हुनेछ। पुलको भारबहन क्षमता भने १ सय टन हुने कार्यालयले यसअघि जानकारी दिएको थियो।
अनुभवी निर्माण कम्पनीलाई मात्र कामको जिम्मा दिने गरी कार्यालयले ठेक्का प्रक्रियामा सामेल हुन भनेको थियो। जसमध्ये ३ कम्पनीले मात्रै बोलपत्र बुझाएका थिए। ३ करोड ३२ लाख लागत अनुमान सहित कार्यालयले फास्ट ट्रयाकबाट बोलपत्र आह्वान गरेको थियो।
प्रतिस्पर्धाअनुसार हाल काम गरिरहेको कम्पनीले १ करोड १२ लाख रुपैयाँ घटेर ठेक्का लिएको हो। विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ।
सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ। सर्वसाधारण लगायत यात्रुहरुलाई सहज आवागमनमा बाधा हुँदा दैनिक सास्ती भोग्नु परेको नगरबासीहरुको गुनासो छ। जीर्ण पुलको पुलचोक इन्जियरिङ क्याम्पसबाट डा. भरत मण्डलको टोलीले अध्ययन गरेको थियो।
पुलको क्षति र दीर्घकालीन रुपमा प्रयोगमा आउन सक्ने नसक्ने यकीन गर्न अध्ययनबाट खुल्ने बताइए पनि हालसम्म टोलीले प्रतिवेदन नबुझाएको सडक डिभिजनका एक कर्मचारीले बताए। पुलको ११ ठाउँबाट बटम कड भाँच्चिए पछि २३ ठाउँमा स्टिल पाता गाँसेर मर्मत गरिएको छ। जोखिम कम गर्न स्टिल क्रसचेम्बर थपेर समेत मर्मत गरिएको कार्यालयले जनाएको छ।