
धनगढी– बाजुरा सदरमुकाम मार्तडीमा दुई साता देखि खानेपानीको हाहाकार भएको छ।
बृहत खानेपानी आयोजनाको पाइप सडक निर्माणको बेला काटिएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानी अभाव भएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
तत्काल खानेपानीको व्यवस्थापन गर्नुपर्ने मागसहित बजारबासीले बडीमालिका नगरपालिकामा तालाबन्दी समेत गरेका छन्। बाजुराको सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको पाईपलाईन सडक निर्माणका क्रममा डोजरले तोडेपछि महिना दिनदेखि बाजुरा सदरमुकाममा खानेपानीको चरम अभाव भएको व्यापारी हंशबहादुर सिंहले बताए। खानेपानी आज आउँछ भोली आउँछ भन्दै नगरपालिकाले व्यवास्था गरेकोले बजारबासीले आन्दोलनमा उत्रिनु परेको उनले बताए।
सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले मार्तडी–झराउले रिङरोड बनाउन सडक निर्माणको क्रममा मुहानबाट आएको खानेपानी पाइपलाईन जथाभाबी काटेर फाल्दा खानेपानीको एक महिनादेखि समस्यामा परेको स्थानीय व्यापारीले बताए। खानेपानीको पाइपलाईन भएको ठाउँमा डोजर प्रयोग गरेर खानेपानीको पाइप समेत काटिदिएपछि जिल्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको र यसको तत्काल समाधान नगरपालिकाले गर्नुपर्ने भन्दै नगरपालिकाका दवै मुलगेटमा ताला लगाएको उपभोक्ता हिक्मत रोकायाले बताए।
खानेपानीको चरम अभाव भएपछि सदरमुकाममा बसोवास गर्ने करिव १७ हजारभन्दा बढी जनसंख्या खानेपानी पिउनबाट बञ्चित भएका छन्।
वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका व्यवस्थापक सुर्यकिरण विकले सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्त भित्र व्यवस्थापन गरिने वताएका छन्। एक महिनादेखिको समस्यालाई हामीले मध्यनजर गरी तत्काल खानेपानी व्यवस्थापनमा जुटेको बताए।
सदरमुकाम मार्तडीमा खानेपानीको अभाव देखिए पनि छिट्टै सदरमुकामबासीले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने व्यवस्थापक विकले बताए।