
कुराकानी सुरु गर्दा ‘तपाईँलाई नचिनेको मान्छेलाई आफू को हो भनेर कसरी चिनाउनुहुन्छ ?’ भनेर सोध्दा, उनी अक्कमक्किए, एकछिन् सोचे र हाँस्दै भने, ‘ला यो प्रश्न आउँछ भनेर मैले कहिले पनि सोचेको थिइन।’
‘म अनमोल गुरुङ, कालिङपोङबाट। चलचित्र निर्देशक बन्ने प्रयासमा छु।’ सँगै उनले जोडे, ‘तपाईँले मलाई यसरी प्रश्न गर्नुभयो, मैले के भनेर उत्तर दिने सोच्नै सकिन।’
हुन त सामान्य कुरा नै हो, नाम, काम भन्नु। तर परिस्थितिले यसलाई गाह्रो बनाइदियो।
एक दिन, अनमोललाई पनि त्यस्तै भयो ।
आमाको साथीका बाबा बितेको खबर आयो। आमाले अनमोललाई अन्तिम संस्कारको कर्ममा सहभागी हुन अर्याइन् । अनमोलले देखे, पाको उमेरका मानिसहरु बाबाको मृत्युपछि ग्वाँ ग्वाँ रोइरहेका थिए।
‘त्यो दिन म झस्याङ्ग भए, देखिरहेको हो नी तर रियलाइज भयो, हामी बाबाको मायालाई कति ‘टेकन फर ग्रान्टेड’ भनेर लिइरहेका छौँ।’
अनमोलले चलचित्रको प्लट फुरेको समय सुनाए, ‘मैले ‘मेरो बुवा मरेको भए’ भनेर सोच्दा नै कस्तो कस्तो लागेर आयो।’
बालबालिका सानो हुँदा सबैलाई सोधिने प्रश्न हो, ‘तिम्रो बाबालाई कति माया गर्छौ ?’
बच्चाले हात फिजाएर तन्काउन मिल्ने सम्म फाल्दै सजिलै भन्छ, ‘य….त्ती’
स्वर्ग चलचित्रमा एउटा गीत छ,
‘छोरी मलाई भागी भागी नसताउ,
कानमा आई सुटुक्क बताउ,
तिम्लाई बाबाको माया कति लाग्छ रे ?’
तर हामी एक्सप्रेस गर्दै गर्दैनौँ, जब हामीसँग त्यो माया छुट्छ अनि हामीलाई मन पिरो हुने गरी पोल्छ। उकुसमुकुस हुन्छ र आँखाबाट छाल उर्लिन्छन्। रोएर के गर्नु, त्यो आँशु पुछ्ने बाबा भए पो ?
‘बाबालाई ‘आइ लभ यू’ भन्न मन लाग्यो, सकिन, फेरि एसएमएस पो गरौ की जस्तो लाग्यो, त्यो पनि सम्भव भएन।’ अनमोल भन्छन्, ‘साथीहरुसँग छलफल गर्दा त्यही अवस्था पाए र त्यहीबेला चलचित्रको पहिलो डायलग फुर्यो।’
‘मेरो गर्लफ्रेन्डलाई ‘लभ यू’ भन्दा भन्दा मेरो मुख पनि थाक्छ, तर, बाबालाई माया गर्छु भन्छु भन्दा किन लाज लाग्छ ?’
त्यसपछि विकसित बन्यो पूर्ण कथा, नाम भयो–आप्पा।
आफ्नै ठाउँको लवजलाई शुद्ध तरिकाले प्रस्तुत गर्न उनी हौसिए। लगानीकर्ता भेट्टाए, कलाकार खोजे अनि सुटिङ, डबिङ सबै सकियो र अहिले प्रदर्शनको मुखैमा आएर बसेको छ–आप्पा। उनको लागि यो नयाँ चुनौती पनि हो। असार १३ बाट देशभर प्रदर्शनमा आउने ‘आप्पा’ मार्फत उनी निर्देशकका रुपमा डेब्यु गर्दैछन्।
यो भन्दा अगाडि उनले ‘क्रिसमस इन सेप्टेम्बर’ लगायतमा ९ वर्षको एसिस्टेन्ट डिरेक्टर भएर काम गरिसकेका छन्।
उनले चलचित्र निर्माण पढेका हुन्, तर भन्छन्, ‘परेर धेरै जानियो।’

आप्पा चलचित्रका कलाकारहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार
काम गर्न थालेको यतिका वर्षपछि आफै चलचित्रको अभिभावक बन्दा उनलाई डर लागेको छ। तर रिस्क फ्याक्टरलाई कम गर्ने प्रयास गरेका छन्। भन्छन्, ‘व्यापारिक रुपमा जस्तो प्रदर्शन गरेपनि चलचित्रलाई भन्ने शैली उत्कृष्ट होस् उद्देश्य छ, उनको लागि कथा मिठो हुनुपर्छ, त्यही मेरो कोशिस रहेको छ।’ पात्र हाँस्दा आफै हाँसोस्, पात्र रुँदा आँखा रसाओस्।
नेपाली चलचित्रमा ‘कुसुमे रुमान, साइनो, पशुपति प्रसाद, कबड्डी कबड्डी, ‘लाइफ इज बिउटीफूल’, ‘कल हो ना हो’ लगायतका मन छुने थुप्रै कथाबाट उनी प्रेरित छन्।
उनले ‘कल हो ना हो’ भन्ने चलचित्र हेर्न जाँदा केही किस्सा पनि भयो, ‘मैले हलमा हेरेको पहिलो चलचित्र हो त्यो, आइतबार चर्चबाट म सिधै हलमा गएको थिएँ, चलचित्रमा जब शाहरुख खानको इन्ट्री भयो, जादु भयो, सबैको मुख आँ’ त्यसपछि उनलाई यस्तै गरी कथा भन्न मन लाग्यो।
इसाई धर्म मान्ने उनी इशुलाई पनि कथाकारका रुपमा लिन्छन्, लिट्रेचर कक्षा उनको मनपर्ने कक्षा थियो।
वास्तविक विषयवस्तुमा वास्तविक कथा भन्नु कमाइको आँखाले खतरापूर्ण देख्छ। नेपाली चलचित्र ‘गोपी’ त्यसको पछिल्लो उदहारण हो। तर अनमोल भन्छन्, ‘हामी हार्न पनि सक्छौँ। तर त्यति असुरक्षित तरिकाले आएका छैनौँ।’
यो पाली उनलाई उदार मन भएका लगानीकर्ता फेला परे, रुदेन सादा लेप्चा। अनमोलको कथालाई प्रष्ट बग्न दिए उनले। वास्तविक कथामा बनेका चलचित्रहरु व्यापारिक हिसाबले सफल नभए पनि मनमा छाप छोड्ने कथा अनमोललाई भन्नु छ।