
काठमाडौं-नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेपछि उपभोक्ता हित संरक्षण मञ्चले केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दर्ता गरेको छ।
मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेका हुन।
उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘उपभोक्ता हितका लागि र सार्वजनकि सेवा दिने सर्तमा खुलेका इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक
संस्थाका नामबाट केही व्यक्तिहरुले वर्षौदेखि लुटिरहेको छ। उनीहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणका नाममा करोडौं रुपैयाँ खाएका छन। कतिसम्म भने उनीहरु कानून बमोजिम दर्ता नै भएका छैनन्। मनपरी रुपमा उपभोक्ताको अधिकार हनन मात्र हैन सार्वजनिक सेवाको नाममा लुटको खेती गरिरहेका छन्।’
इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणका नाममा सञ्चालन प्रशारणमा अवरोध पुर्याउनेहरु उनीहरुमाथि कारवाही गर्न उनको माग छ।
यसका साथै उनले सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनु आवश्यक रहेको जिकिर गरे।
उजुरी दर्ता गरेका व्यक्ति आवद्ध केवुल तथा टेलिभिजन कम्पनीको कार्यालयमा रहेको उपभोक्तासँगको सझौता, कारोवार, प्रशारण सम्वन्धी सम्पूर्ण विवरण,कागजात तथा कप्युटर फाइल समेतको रेकर्ड झिकी बुझी अनुसन्धान गर्न समेत माग गरेको छ।
यता, नेपाल सरकारले विज्ञापन सम्बन्धि विधेयकको मस्यौदा तयार गरेको सो विधेयक हाल संघीय संसदमा विचारधीन अवस्थामा छ भने ब्यबसायीहरुले सरकारले आफूहरुमाथि जानी जानी कर र आर्थिक भार थोपरेको भन्दै क्लिन फिड हटाउन माग गरेका छन्।
उनीहरुले यो ब्यबस्था लागू हुदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नु परेको आरोफ लगाएका छन्।
सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुलीले प्रस्तावित विज्ञापन ऐन, २०७६’लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने दाबी गरे। उनले भने, ‘ सरकारले यस्तो नीति ल्याएमा नीजी क्षेत्रको अर्बौको लगानी बालुवामा पानी हुन्छ। हामीले उपभोक्ताहरुला सेवा र सुविधा दिन असर्थ हुनेछौ।’
उनले नेपालमा संञ्चालित डिटीएच, ओपीटभी र ओटीटीका कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसंग मासिक शुल्क उठाउन नसक्ने बताए। उनले भने, ‘नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन्।इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ छ। अब हामीले ग्राहकसँग उठाएर दिन सक्दैनौ। क्लिन फिड लागू भए च्यानल बन्द गर्नुको अर्को विकल्प हामीसँग छैन ‘