
पोखरा – पोखरा महानगरपालिकाको पाँचौँ नगरसभाबाट गत बुधबार पारित आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको क्षेत्रमा कम बजेट दिएको भन्दै कांग्रेस निकट जनप्रतिनिधि मेयर मानबहादुर जिसी विरुद्ध आन्दोलनमा छन् ।
कांग्रेसका वडाध्यक्ष भएका वडामा बजेट बाँडफाँडमा मेयरले विभेद गरेको, नगरसभामा रातो किताबमाथि छलफलमा भाग लिन नदिएको आरोप उनीहरुको छ । नगरसभामा मेयरकै सामुन्ने रातो किताब च्यात्ने र सभागृह हलका टेबुल, कुर्सी तोडफोडमा उत्रिएका थिए ।
मेयरले आफ्ना योजना नसमेटेको र रातोकिताब सच्याउनु पर्ने मागसहित कांग्रेसबाट निर्वाचित महानगरका ४८ जनप्रतिनिधि बिहीबारदेखि महानगरको मुल गेटमा ताला लगाई कार्यालय समयभर धर्नामा बसेका छन् । शुक्रबार आन्दोलन निरन्तरता राख्ने कांग्रेसका सचेतक समेत रहेका वडा ९ का अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।
कांग्रेस निकट जनप्रतिनिधिहरुको आन्दोलन भने मेयर मानबहादुर जिसीले विरोधको लागि विरोध मात्रै जस्तो भएको बताएका छन् ।
शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत मेयर जिसीले आफूले योजना छनौट र बजेट बाँडफाँडमा कुनै पनि राजनीतिक रंग नदेखाएको दाबी गरे ।
‘कस्ता योजनालाई प्राथमिकतामा राख्ने र कति आकारको बजेट दिने छलफलबाट निश्कर्षमा पुगेका हौँ’, उनले भने, ‘नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भयो । बजेटमा सोही अनुसारको रकम विनियोज गरेका छौँ ।’
पूर्वाधार आवश्यकताको आधारमा वडालाई बजेट दिइएको उनको भनाई छ ।
उनले भने, ‘साना, अल्पकालीन, खुद्रे योजना भन्दा भविष्यमा महानगरको विकास र समृद्धिमा ठोस परिणाम दिने । बहु वडा लाभान्वित हुने ठूला योजनाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोज भएको छ ।’
शहरी क्षेत्रमा अस्फाल्ट कंक्रिट र ग्रामीण क्षेत्रमा कनेक्टिङ सडकलाई प्राथमिकतामा राखी बजेट ल्याइएको उनले बताए ।
महानगरका गौरवका आयोजना फेवाताल संरक्षण देखि पर्यटनका दृष्टिकोणले सम्भाव्य क्षेत्रको विकासमा महानगरको ध्यान भएको र को कांग्रेस को नेकपा भन्दा पनि समग्र महानगरको समृद्धिको लागि सोचेको उनले सुनाए ।
आन्दोलनरत पक्षसँग वार्ता बस्ने र गुनासालाई छलफलबाट टुंगो लगाइने मेयर जिसीले जानकारी दिए । वास्तवमै मर्का परेका जस्ता वडाहरु भए विनियोजित बजेट मध्ये परिचालन हुन सक्ने सम्भाव्य हेरेर मात्रै निश्कर्षमा पुगिने उनको भनाई छ ।
नगरस्तरीय बजेट हेर्नुहोस्
नगरसभामा कांग्रेस वडाध्यक्षहरुले रातो किताब च्यानु र तोडफोडमा उत्रिनु जनताको मतको कदर नगरेको मेयर जिसीले बताए । क्षति बहन सम्बन्धमा निर्क्यौल गरी अघि बढिने भने पनि पनि मेयर जिसीले त्यसबारे धेरै बोल्न चाहेनन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले मंगलबार नगरसभामा ७ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत विनियोजन विधेयक बुधबार बहुमतले पारित भएको छ।
नगरस्तरीय तर्फ प्रत्येक वडालाई पूर्वाधार, वातावरण र आर्थिक विकास गरी रकम छुट्याएको छ । नगरस्तरीय योजना कतिपय बहुवर्षीयमा टेन्डर आह्वान भइसकेकोले पनि भुक्तानी दिन बाँकी रातो किताबमै उल्लेख गरिएको मेयर जिसीले जानकारी दिए ।
त्यस्तै, सामाजिक विकास, कार्यालय सञ्चालन, आर्थिक विकास, भैपरी विविधतर्फ गरी ५–५ प्रतिशत, पूर्वाधार विकासतर्फ ६५ प्रतिशत र मर्मत सम्भारका लागि १५ प्रतिशत विनियोजित बजेट खर्च गर्न पाउने प्रावधानसहित वडास्तरीय बजेट समेत महानगरले छुट्याएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।