
पोखरा-कान्तिपुरचोक निवासी लक्ष्मी नेपालीको हत्याको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार सार्वजनिक गरेको छ।
लक्ष्मीका श्रीमान् ३५ वर्षीय रमेश नेपाली, भोजपुर घर भइ पोखरा महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा, सर्लाही ईश्वरपुर घर भई पोखरा पृथ्वीचोक बस्ने २६ वर्षीय चित रञ्जन कुमार साह र लक्ष्मीकी मामाकी छोरी १९ वर्षीया गोरखा गण्डकी गाउँपालिका ७ घ्यालचोक बस्ने अनु नेपालीलाई प्रहरीले पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।
असार १ गते रमेशकै योजनामा लक्ष्मीको पोखरा २२ स्थित कर्कले जंगलमा हत्या भएको थियो।लक्ष्मीको शव २५ गते मात्रै भेटिएको हो। हत्यामा संलग्न अन्य ३ जना भारतीय नागरिकलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरु गत घटना घटाएको दिनमा नै पोखराबाट भागेको र अहिले भारतमा रहेको कारण पक्राउ गर्न नसकेको प्रहरी स्रोतको भनाइ छ।
हत्या भएको भोलीपल्ट अर्थात असार २ गते लक्ष्मी हराएको उजुरी लिएर जिल्ला प्रहरी कास्की पुगेका रमेशले नै उनको हत्या गरेको पत्तो पाएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको थियो।रमेशले अन्य व्यक्तिको सहारामा लक्ष्मीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
रमेशले आफूसहित सञ्जय शर्मा, पृथ्वीचोकमा मोबाइल पसल गर्ने सर्लाही लालबन्दीका चित रञ्जन कुमार साह र अन्य ३ भारतीय नागरिकले हत्या गरेको प्रहरीलाई बयान दिएका छन्।
लक्ष्मीकी मामाकी छोरी अनुसँग रमेशको प्रेम सम्बन्ध रहेको र लक्ष्मीको हत्याको लागि अनुले हौसला दिएको एसपी कार्कीले रमेशको बयान उद्दृत गर्दै भने।‘अनुसँगको सम्बन्ध लुकाउन रमेशलाई समस्या परिरहेका बेला अुनले नै दिदी लक्ष्मीलाई ‘साइड’ लगाइदेउ भनेपछि हत्याको योजना बनेको थियो ।’
चित रञ्जन कुमार साहले १० लाख रुपैयाँमा भारतबाट झिकाई लक्ष्मीको हत्या गर्न सहयोग गरेका थिए।
प्रहरीलाई दिएको बयानमा साहले भारतबाट ३ जना ‘कन्ट्र्याक्ट किलर’ पोखरा झिकाएर हत्या गरेको स्विकार गरिसकेको एसपी कार्कीले बताए।
यसरी भएकको थियो हत्या
रमेश नेपालीले लक्ष्मीको खुट्टामा देखिएको घाउ निको बनाउने जडिबुटी खोज्न भन्दै जंगल जान राजी गराउँछन्।आफ्नो मोटरसाइकल बिग्रेको बाहाना बनाई सञ्जय शर्माले भाडामा व्यवस्था गरिदिएको स्कुटर ग११प ८००३ मा लक्ष्मीलाई राखेर पोखरा २२ स्थित कर्कले जंगलमा लैजान्छन्।
केही समय जडिबुटी खोज्ने क्रममा रमेश आफूलाई पिसाब लागेको भनी लक्ष्मीलाई जंगल भित्र तलतल जान भन्छन्।योजना मुताविक जंगलभित्र लुकेर बसेका ३ भारतीय सहितका व्यक्तिले उनको मुख र आँखामा सल बाँधी चक्कुले घाटी रेटी हत्या गर्छन।
हत्यापछि दिउँसोको करिब ३ बजे रमेश, सञ्जय र चित रञ्जन पुनः भेटिन्छन।डिलअनुसारको १० लाखमध्ये ६ लाख रुपैयाँ रमेशले चित रञ्जनलाई सिद्दार्थ राजमार्गमै बुझाउँछन् र बाँकी ४ लाख रुपैयाँ पछि दिने सहमति गरी त्यहाँबाट रमेश स्कुटरमा एक्लै फर्किन्छन्।
रमेशले घटनाको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय कास्कीमा श्रीमती हराएको भन्दै निवेदन दिएका थिए।उनले इष्टमित्रहरुलाई समेत फोन गरी लक्ष्मी हराएको जानकारी गराएको प्रहरीको अनुसन्धाबाट खुल्न आएको छ।
घटनाको अन्तिम टुंगो नलागुन्जेलसम्म प्रहरीलाई विभिन्न समयमा श्रीमती खोजिदिन भन्दै रमेशले दबाव समेत दिँदै आएको एसपी दानबहादुर कार्कीले सुनाए।
उनका शंकास्पद गतिविधि निगरानी बढाएको प्रहरीले अन्ततः असार २५ गते रमेशलाई नियन्त्रण लिई अनुसन्धान गरेको थियो।
रमेशले आफ्नै योजनामा लक्ष्मीको हत्या गरेर पोखरा २२ स्थित कर्कले जंगलमा शव फालेको प्रहरीलाई बताएका थिए।रमेशलाई साथमै लिएर जंगलमा जाँदा लक्ष्मीको कंकाल मात्रै फेला परेको थियो।