
काठमाडौं : सरकारको दमनविरुद्ध भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले साउन ७ गतेदेखि सरकारी गाडीहरु गुड्न नदिने घोषणा गरेको छ।
समूहका मध्य पश्चिम कमान्ड इन्चार्ज विरजङले विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेका हुन्। सरकारले वार्ताको हल्ला चलाएर भ्रम छर्ने र दमनको तयारी गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ।
‘राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि बार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।