
काठमाडौँ – धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा ज्यान गुमाएका बझाङका रामबहादुर सिंह आफैले झोलामा बोकेको बम पड्किएको आशंका प्रहरीले गरेको छ ।
शहीदगेट नजिकको निलम होटलमा सिंहसँगै लक्ष्मण सेरेला मोटरसाइकलमा आएका थिए । खाजा खान होटलमा आएलगत्तै विष्फोट भएको बताइएको छ । मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोकेको आशंका प्रहरीको छ ।
मृतक सिंह र घाइते रहेका सेरेला विप्वल नेतृत्वको नेकपाका लडाकू रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र एक से ७ प ३१४४ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
बिहीबार साँझ भएको विष्फोटमा परी घाइते पाँच मध्ये सिंहको ज्यान गएको हो भने अरु चार जनाको उपचार भइरहेको छ । विष्फोटमा होटल सञ्चालक पनि घाइते भएका छन् ।