
लमजुङ – दोर्दी खोलाको बाढीले बगाउँदा बेपत्ता भएका सातजनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले देश सञ्चारलाई जानकारी दिएका छन् ।
दोर्दी गाउँपालिकामा रहेको लिबर्टी इनर्जीले निर्माण गरिहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा कार्यरत मजदूरलाई दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी बाढी आएर बगाएको थियो ।
मजदूर कार्यरत रहेको भन्दा माथिल्लो भागमा पहिरोले थुनिएको खोला एक्कासी खुल्दा बाढी आएको हो । बगाएका ११ जनामध्ये चारजनाको शव बुधबार नै भेटिएको थियो । अरु सातजनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
मृत्यु भएका मध्ये हालसम्म दुईजनाको पहिचान भएको छ । पर्साका शिवधन चौधरी र डडेल्धुराका रमेश बुढाको पहिचान भएको प्रहरी निरीक्षक पाण्डेले बताए ।
बाढीबाट जोगिन भाग्ने क्रममा घाइते भएका ८ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । दोर्दी खोलामा पानीको बहाव कम भए पनि पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन् ।