
सिमकोट – संघीयताको कार्यान्नयनसँगै नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीमा राज्यद्वारा उपलब्ध हुने सेवा र सुबिधाको पहुँचमा बृद्धि हुन थालेको छ ।
वडा स्तरमा जननिर्वाचित प्रतिनिधि आउनु तथा धेरै कुरा गाउँपालिका स्तरमा आउँदा दूरदराजको बस्ती लिमीका गाउँमा विकासे गतिविधिहरुको पहुँचमा बृद्धि भएको हो ।
हुम्लाका लागि आउने ढुवानी अनुदानको खाद्यान्न कहिल्यै पनि नपाउने लिमीका बासिन्दाहरुले दुई वर्षयता त्यो पाउन थालेका छन् ।
अघिल्लो वर्ष प्रति परिवार ७० किलो र यसवर्ष प्रतिपरिवार एक क्वीन्टल खाद्यान्न पाएको लिमी हल्जीका स्थानीय कुन्साङ तामाङले बताए ।
यस अघि लिमीका बासिन्दाहरुले कहिल्यै ढुवानी अनुदानको खाद्यान्न नपाएको उनकोे भनाई छ । अझै पनि लिमीका स्थानीयले सरकारी ढुवानी अनुदानको आयोडिन युक्त नुनको प्रयोग गर्न पाएका छैनन् ।
लिमीका बासिन्दाहरुले केही समय अगाडिसम्म नागरिकता र सीमा पास लिन आठ देखि दश दिन लगाएर सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता थियो । तर अहिले भने वर्षमा एक पटक गाउँमै घुम्ती शिविर मार्फत ती कुराहरु उपलब्ध हुने गरेको स्थानीयको भनाई छ ।
राज्यका सेवा र सुबिधाहरुमा नेपाली नागरिकता र सीमा पास मात्र पाउने लिमीका बासिन्दाहरुले यो दुई वर्षमा एक दर्जन भन्दा बढी विकासे योजनाहरु आफैले निर्माण गरेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
यसमा खानेपानी, सिँचाइ, सडक, घोरेटो बाटो, काठेपुल, गुम्बा निर्माण, तटबन्ध निर्माण, वडा कार्यालयको भवन, विद्यालय भवन लगायत छन् ।
यस्तै एक करोडको लगानीमा चौरी श्रोत केन्द्रको स्थापना गरेर ८३ वटा चौरी तथा याकहरु पाल्न पनि सुरु भएको छ ।