
पोखरा-सुत्केरी पछि अत्यधिक रक्तश्रावका कारण उपचारका क्रममा मृत्यु भएकी कास्की अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुककी निशाकुमारी थापाको दाहसंस्कार भएको छ।
पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बिहीबार सुत्केरी भएकी निशाको निरन्तर रक्तश्राव भएपछि समयमै उपचार नपाउँदा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोनमा उत्रिएका थिए।
चिकित्सकको लापरवाही र अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने आन्दोलन पक्षको माग राखेपनि अन्ततः रकम लेनदेनमा विवाद साम्य भएको छ।
अस्पतालका एक अधिकारीका अनुसार निशाका परिवारलाई ३ लाख ५० हजार सहयोग स्वरुप दिइने सहमति भएको जानकारी दिए।
उनका दुवै बच्चा स्याहार गर्ने १ जनालाई अस्पतालमा रोजगारी र उनीहरुको निशुल्क स्वास्थ्योपचार गर्नेगरी सहमति जुटेको उनले बताए। त्यस्तै, निशाको उपचार गर्दाको क्रममा लागेको १ लाख ५० हजार रुपैयाँ समेत अस्पताल व्यवस्थापन गर्ने भएको छ।
शनिबार अबेरमात्र अस्पताल र आन्दोलन पक्षबीच जिल्ला प्रहरी कार्यालय कास्कीको रोहवरमा भएको वार्ता मिलेपछि निशाको शव उठाइएको थियो।