
हुम्ला, सिमकोट – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको स्तरोन्नतिको कार्य ८६ दशमलव ८४ प्रतिशत पूरा भएको छ । सिमकोट–हिल्सा सडक आयोजना र निर्माण कम्पनीहरुले काममा तीव्र रुपमा गरिरहेका छन् ।
अब सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यो सडक पूरा भएसँगै हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिने छ । राज्यसँग सडक सञ्जान जोडिन केही समय लाग्ने देखिए पनि अब उत्तरतर्फको चीनसँग भने चाँडै सदरमुकाम सिमकोट जोडिने पक्का जस्तै भएको स्थानीय बासिन्दाले बताउन थालेका छन् ।
२०५७ सालदेखि चर्चामा सीमित सिमकोट हिल्सा सडक आयोजनाको ८२ दशमलव ५ प्रतिशत सडकको स्तरोन्नति गर्ने कार्य असार मसान्तसम्म सम्पन्न भएको आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए । सिमकोट–हिल्सा सडक आयोजनाको कुल लम्बाई ९५ किलोमिटर छ । यस मध्ये हिल्साबाट इलिङसम्मको ५५ किलोमिटर मध्ये ४८ किलोमिटर सडक पूर्ण रुपमा स्तरोन्नति भएको छ । बाँकी पाँच किलोमिटरको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
इलिङबाट सल्लीसम्मको १२ किलोमिटर मध्ये ६ दशमलव ५ र सल्लीबाट च्याछरासम्मको १० किलोमिटर मध्ये चार किलो मिटर सडकको स्तरोन्नति पूरा भए पनि बिचमा चट्टानी भाग र मोडहरुमा केही काम बाँकी रहेको छ ।
च्याछराबाट हेक्पाखोलासम्मको चार किलो मिटरमा पनि काम भैरहेको छ । हेक्पाखोलाबाट सिमकोटसम्मको १४ किलोमिटरको पनि स्तरोन्नति भैरहेको छ । यसखण्डको प्रारम्भिक ट्र¥याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब चार सय मिटर मात्र बाँकी छ । असार मसान्तसम्ममा कुल ९५ किलोमिटर मध्ये चार सय मिटर मात्र निर्माण कम्पनीले सडक छिचोल्न बाँकी देखिएको हो । आर्थिक वर्ष ०६९–०७० मा सडक विभागले हिल्सा–सिमकोट सडक आयोजनामा काम गर्दै आएको छ ।
इलिङ खण्डमा मोड र चट्टानी क्षेत्र, याल्वाङ भिर, सल्लीको मोड, तातोपानीको क्षेत्रको चट्टानी क्षेत्र, च्याछरा भिर जस्ता चट्टानी तथा असजिला क्षेत्रमा काम गर्न बाँकी छ । ती स्थानहरु केहीमा बिस्फोट गराउनु पर्ने र केहीमा मिलाउनु पर्ने भएकाले त्यसको तयारी भएको आयोजनाले जनाएको छ ।