
पोखरा-अवैध तवरले सञ्चालनमा रहेको पोखरा ८, सृजनाचोकस्थित १ मेन पावर कम्पनीमा सिल गरिएको छ।
वैदेशिक रोजगार विभागबाट लिनुपर्ने अनुमति पत्र नलिई सञ्चालनमा रहेको आयुष इन्टरनेसन ओभरसिज सर्भिस प्रालिमा श्रम तथा रोजगार कार्यालय पोखराले छापा मारेको हो।
कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठ र कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठ सहितको सुरक्षा टोलीले मेनपावरको कार्यालयमा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
उक्त कम्पनीले एउटा कोठा मात्र भाडामा लिइ बाहिर बोर्ड नराखी फोन सम्पर्क मार्फत लुकीछिपी काम गर्दै आइरहेको श्रम कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठले जानकारी दिए।
सेवाग्राहीले दिएको गोप्य सूचनाका आधारमा श्रम कार्यालयले अनुसन्धान गरेको थियो।कम्पनी सिल गरी डेल कम्पनीको ल्यापटप १, सामसुङ मोबाइल १, फाइल, सम्पर्क नम्बर, रसिद तथा फाराम बरामद गरिएको श्रम कार्यालयका कारखाना निरीक्षक एवं सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए।
प्रचलित कानुन विपरित सेवा सञ्चालन गरिरहेकाले कम्पनीलाई कारवाहीको प्रक्रिया अघि बढाइएको उनले सुनाए।‘इजाजत नलिई सञ्चालन गरेको मेन पावर कम्पनीबारे सूचना आयो,’ उनले भने, ‘अनुसन्धानका क्रममा पनि कानुन विपरित सेवा दिइरहेको पाएपछि सिल गरेका हौं।’
जिल्ला प्रशासन कार्यालयको रोहवरमा सञ्चालक गजेन्द्र चमारको बयान लिई जमानीमा छाडिएको छ।थप कारवाहीका लागि वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने तयारी रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
श्रम तथा रोजगार कार्यालय पोखराले वैदेशिक रोजगारीका नाममा हुनसक्ने ठगी नियन्त्रण गर्न मेन पावर कम्पनीको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ।
काठमाडौंमा मुख्य अफिस रहेर पोखरा शाखा सञ्चालन अनुमति पाएका २ कम्पनीमात्र छन्।
दि रिभर ओभरसिज र पुरकार इन्टरनेसन ओभरसिजलेमात्रै शाखा सञ्चालन अनुमति लिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।अवैध तवरले सञ्चालनमा आएका त्यस्ता कम्पनीबारे उजुरी वा सूचनाको आधारमा पनि छानबिन गरिने श्रम कार्यालयले जनाएको छ।