
धनगढी-विद्यार्थीलाई मानसिक यातना दिएर आत्महत्या गर्न दुरुत्साहन गर्न आरोप लागेका शिक्षकलाई पक्राउ गरिएको छ।
शनिवार कंचनपुरको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखेकले भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको आफ्नै घरको कोठामा झुन्डियर आत्महत्या गरेका थिए।
उनले आत्महत्या गर्नुअघि हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका थिए। आत्महत्या गरेका विद्यार्थी सुरजका बुवाले आफ्नो छोरालाई शिक्षकले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक हरिलाल जोशीका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।
मृतक सुरजका बुवा गणेश दत्त लेखकले दिएको किटानी जाहेरीको आधारमा आरोपित शिक्षक जोशीलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएपसी गणेशबहादुर बमले बताए। उनलाई सोमबार बेलुका पक्राउ गरिएको उनले बताए।
यसैगरी शिक्षकको कुटाइबाट तीन साताअघि कञ्चनपुरको भीमदत्त नगरपालिका १७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको मृत्यु भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्का विद्यार्थीको ज्यान गएको हो।
शिक्षाको ज्योति दिने शिक्षकको व्यवहार र यातनाले कलिलो उमेरका विद्यार्थीको एकपछि अर्को गर्दै ज्यान जान थालेपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ।
सुरजका दाजु सन्दिपले सु्साइट नोटमा शिक्षकको नाम उल्लेख गरेकाले उनकै नाममा जिल्ला प्रहरी कार्यालयमा बुबाले किटानी उजुरी दिएको बताए। ‘भाइलाई शारिरीक र मानसिक यातना दिएका कारण आत्महत्या गरेको बुझिएको छ,’ उनले भने–‘यस घटनाबाट हामी त्रसित बनेका छौँ।’
शिक्षक जोशीले शुक्रबार बिहान विद्यालय समयमा साथीसँग चुरोट खाइरहेको थाहा पाएपछि सुरज सहित दुई विद्यार्थीलाई विद्यालयमै बोलाएर कुटपिट गर्नुका साथै मानसिक यातना दिएको विद्यार्थीका बुबा गणेश लेखकले बताए। मानसिक यातना हुनेगरी माफी सहितको लिखत गरी औँठा छाप लगाइएकोले उसलाई बढी मानसिक यातना पुगेको उनले बताए।
‘सुसाइड नोटको अन्त्यमा पनि कलमको मसी लगाएर दुवै बुढी औँलाको औँठाछाप लगाएको छ,’ उनले भने–‘छोरालाई शारिरीक र मानसिक यातना दिएकै कारण असह्यै भएर आत्महत्याको बाटो रोजेको हो।’
मृतक सुरजका बुबा गणेश जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक हुन्। ‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ,’ उनले भने– ‘गलत गर्नेलाई कानुनी कारबाही भएर भविष्यमा अन्य विद्यार्थीले यस्तो नियती भोग्नु नपरोस्।’
शिक्षक जोशीलाई लिटिल बुद्ध एकेडेमीले आइतबार सेवाबाट हटाएको थियो। प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सुसाइट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको बताए।
पछिल्लो समयमा विद्यालयमा शिक्षकबाट विद्यार्थी कुटिन थालेपछि विद्यार्थी र अभिभावक चिन्तित बनेका छन्। तीन साता अघि शिक्षकको कुटाइबाट घाइते भइ उपचारका क्रममा मृत्यु भएका माधव कलौनीको घटनामा प्रधानाध्यापकसहित पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको छ। पाँच जना प्रहरी हिरासतमा रहेका छन्।