
हुम्ला, सिमकोट – हुम्लाको लिमीमा पहिलो पटक दुई सिँचाइ योजना निर्माण भएर सञ्चालनमा आएका छन् । यसले गर्दा सो क्षेत्रको मुख्य बाली उवाको उत्पादन बृद्धि हुने भएको छ । १० महिनामा पाक्ने उवा खेती सिँचाइ सुविधाको अभावमा किसानलाई समस्या हुने गरेको थियो ।
यसअघि स्थानीय बासिन्दाले कुलो बनाएर केही रुपमा भए पनि जग्गामा खोलाको पानी लगेर काम चलाउ सिँचाइ गरेका थिए । तर अब सिँचाइको सुविधा भएपछि खेती राम्रो हुने आश किसानमा रहेको र यसले सहज भएको लिमी हल्जी गाउँका पेम्बा तामाङले बताएका छन् ।
गत वर्ष कात्तिक–मंसिरमा छरेको उवा अहिले सिँचाइ कुलो सञ्चालनमा आउँदा बाली पनि राम्रो देखिएको उनले बताए । वडाले आठ लाख लगानी गरेर निर्माण गरेको आठ सय मिटर लम्बाई भएको कुलोले गर्दा अहिले उवाका बोट पनि फस्टाएको र यसपाली उत्पादनमा समेत बृद्धि हुने उनले बताए ।
भदौ अन्तिमदेखि असोज महिनासम्म पाक्ने उवामा कुनै त्यस्तो रोग नलागे उत्पादनमा पनि बृद्धि हुने विश्वास स्थानीयको छ । यो सिँचाइबाट तीन सय रोपनी जग्गामा सहयोग पुग्ने वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।