
पोखरा– यतिवेला पाेखराकाे बेगनास तालमा कुनै चहलपहल छैन। पंक्ति मिलाएर राखिएका डुंगा हावाको बेगले ल्याउने पानीकाे छालमाथि बयली खेल्छन्।
पानीको छालले डुंगालाई घरीघरी दिइरहने धक्काको आवाज मात्र महसुस हुन्छ। छप्ल्याङ–छप्ल्याङ। वातावरण शान्त छ, कुनै भिडभाड छैन। डुंगा छुट्ने ठाउँमा पर्यटक कुरेर बसेकाहरु पनि दोहोरो संवाद गर्दैनन्।

पर्यटकको आगमन नभएपछि बेगनास ताल छेउमा पार्किङ गरी राखिएका डुंगा। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार।
बेगनास ताल पुग्ने हरकोही यस्तै दृश्यसँग जुध्छ। खाली–खाली, रित्ता–रित्ता छन् डुंगा। तालको बीचमा एउटा पनि डुंगा तैरिएकाे देखिँदैन।
तालकाे किनारमा दर्शकदीर्घा जस्तै उभिनेका लागि बेगनास पुग्दा रमाउने बहाना यो पनि बन्न सक्छ। खाली डुंगाको पक्ति अनि गुजुमुज्ज पोको परेर यताउता ढल्किरहेका ‘डान्सिङ बोट’।
तर त्यही डुंगा चलाएर दैनिक गर्जो टार्नेहरुका लागि यो परिस्थिति रमाउन सक्ने खालकाे छैन।
बेगनास डाँडापारीकी लक्ष्मी न्यौपाने बिहीबार सबेरै मोटरबोटबाट डुंगा स्टेसन झर्दा खिन्न देखिइन्।
तालमा पर्यटक बोकेर तैरिने २ सय ४९ डुंगालाई पालैपालो नम्बर दिइन्छ। लक्ष्मी आफ्नाे पालो परेर सबैरै झरेकी हुन्। केहीदिन अघिको पालोमा एक क्यू पनि थाप्न पाइनन्। आज आशा छ उनलाई कोही आउँछन् डुंगा चढ्न।
‘रातभरी पानी परेर डुंगा भोरेछ’, तेलको जर्किन आधा काटेर पानी झिक्न बनाइएको भाँडोबाट पानी झिक्दै उनले भनिन्, ‘सिजन छैन। तै मान्छे आइ पो हाल्छन् की भनेर झट्टै मोटरबोट चढेर आकी।’
तालमा उनका दुई वटा डुंगा छन्। एउटाको नम्बर १२ अर्कोको नम्बर ५५। घरखर्ची मालसामन बोक्न यताउती गर्न उनी जस्तै बेगनास डाँडाबासी अधिकांश डुंगाकै भर पर्छन्। गाउँमा मोटरबाटो पुगेको त छ। तर जताबाट सजिलो हुन्छ उतैको भर धेरै।
५५ नम्बरको डुंगामा पानी थिग्रिएको थियो। उनी मोटरबोटबाट झरेपछि पानी झिक्न थालेकी थिइन्। काठबाट बनेका डुंगा केही वर्ष पुरानो भएपछि चरबाट पानी रसाउँछ।
पानी छिरेर हैरान बनाएपछि अन्तिम अवस्थामा पुगेका डुंगालाई त्यही ताल किनारमा मर्मत गरिन्छ, र तालमा झारिन्छ।
लक्ष्मीलाई झण्डै २० मिनेट लाग्यो थिग्रिएको पानी फ्याँक्न। ११ बजेको हुँदो हो, आकाश नियाल्दा बादल फाटेर घाम लाग्ने छनक दिइसकेको थियो।
‘एकछिन डुंगा सुकोस्’ भन्दै उनी बेगनास ताल डुंगा व्यवसायी समितिका केही पदाधिकारी गफिएतिर सोझिइन्।
‘टिप पाइएला जस्तो छैन’, समिति सदस्य सूर्यप्रसाद कडेँलले लक्ष्मीलाई देख्नासाथ भने। छेउमै थिए क्यु इन्चार्ज शिवप्रसाद कडेँल लगायत। ‘हिजो ५ वटा चलेका हुन्। अस्ति ३ वटा हो की’ शिवप्रसाद सुनाउँदै थिए।
असार लागेपछि बेगनासका डुंगा व्यवसायीको दैनिकी यस्तै छ। व्यापार ठप्प छ। क्यु परेको बेला आएर कुर्नै पर्यो। नत्र दिनभर यसै ताल किनारमा हाई काड्दै बस्नु बाहेक अर्को विकल्प छैन।
डुंगा व्यवसायका लागि असार, साउन र भदौकाे करिब आधा समय ‘अफ सिजन’ हो। उसो त फेवातालमा जस्तो मान्छे बेगनास आइपुग्दैनन्।
‘मन्दिरले गर्दा नि होला नि फेवामा मान्छे आउनी’ लक्ष्मीले तालबाराही मन्दिर दर्शन गर्न पुग्नेहरुलाई इंगित गर्दै भनिन्। सिजन आउन असोजसम्म कुर्नै पर्ने बाध्यता बेगनासलाई छ।
सिजनका दिनहरुमा पनि सबै डुंगाले ‘बिजनेस’ पाउँदैनन्। अफ सिजनमा पनि कुरेरै बस्नु पर्छ। कोही आइ पो हाल्छन् की भन्ने आशले साँझ कटाउँछ। व्यापार भए एक घन्टाको आम्दानी ५ सय रुपैयाँ गोजीमा पर्छ।