
सिमकोट-न्यून आयश्रोत भएका र भुमिहीन बर्गका लागि जनता आवास कार्यक्रमले छ महिना अगाडी देखि बनाएर तयार पारेका घरमा लक्षित बर्गका सदस्यहरु बसेका छैनन्।
बस्नैका लागि घर तयारी भएको भए पनि लक्षित बर्गका सदस्यहरुले आफ्नो थातथलो छाड्न नमान्नु नयाँ घरमा शौचालय निर्माण नहुँनु र देउता लाग्ने डर भएपछि उनीहरु नयाँ बनेका आधुनिक घरमा बस्न नमानेका हुन।
एउटा पुर्खा देखि बस्तै आएको घर छोड्न नसकिएको र अर्को देउताको डरले गर्दा पहिलेको माटोले छाएको घरलाई छोड्न नसकेर नयाँ घरमा जान नसकिएको जनता आवास कार्यक्रमबाट नयाँ घर निर्माण भएर खार्पुनाथ ५ याङ्चुका ज्ञानसिंह सुनारले बताए।
त्यतिखेर घर बने भैहाल्छ भन्ने थियो तर अहिले सर्न कठिन सेवाग्राहीहरुलाई कठिन भएको छ। त्यो संगै अर्को शौचालय नभएर पनि नयाँ घरमा सर्न नसकिएको उनले बताए। जनता आवास कार्यक्रमले घर बनाउने पैसा दिए पनि शौचालयको ब्यबस्था गरेको छैन।
जग्गामा जस्तापाता छाएको तीन कोठे एक तले भवन निर्माण गरेर पनि अन्य सदस्यहरु नसरेको कारण आफु पनि सर्न नसकेको अर्का सदस्य धनबिर सुनारले बताए।
कार्यक्रमबाट तीन साल ६७ हजार नगद अनुदान लिएर प्रत्येक सदस्यले आफै भवन बनाएर सबै तयारी गरेको भए पनि बस्नका लागि सबै लक्षित बर्गका सदस्यहरुले आनाकानी गरि रहेका छन्।
बस्नका योग्य भवन भएर पनि कुनै सदस्यहरुले घरमा सर्न नमानेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए। दुई पटक आफु गाउँमै गएर लक्षित बर्गलाई भेटेरै नयाँ घरमा सर्न अनुरोध मात्र नगरि पालिकाबाट जाने सेवा र सुविधा समेत रोक्नेसम्मका चेतावनी दिदा पनि कसैले नमानेको तर आफुले नयाँ घरमा सार्नका लागि प्रयास भने जारी राखेको उनले जानकारी दिए। अर्को नयाँ घरमा नसरे कार्यपालिकाबाट निर्णय गराएर ती घर अन्य प्रयोजनमा प्रयोग गराउनेसम्म चेतावनी पालिकााले दिएको छ।
पालिकाका केन्द्र समेत रहेको याङ्चु बगरमा २८ वटा घरहरु लस्करै निर्माण भएको भए पनि धेरै घरहरु खाली रहेका छन् भने केही घर घरधनीले भाडामा लगाएका छन्। उक्त स्थानमा सबै सेवाग्राहीहरु सरे आयआर्जनका कार्यक्रम संचालन गरेर बस्न पनि सकिने अध्यक्ष रावलले बताए।
दुई वर्ष अगाडिदेखि जुम्लामा रहेको आवास कार्यालयबाट जनता आवास कार्यक्रम संचालन भएको थियो। प्रतिघरधनी कार्यक्रमबाट आएको पैसाका साथै आफ्नो पनि लगानी गरेका छन्। केही घर एक बर्ष अगाडिदेखि तयार भएको भए पनि केही भने छ महिना अघि तयार भएका थिए।