
सिमकोट– हिमालपारीको नाम्खा गाउँपालिका वडा नम्बर–६ को लिमीका तीन गाउँबाट २ सय ५० भन्दा बढी बेरोजगारहरु युवायुवती कामका लागि छिमेकी देश चीनको ताक्लाकोटमा गएका छन्।
केही समय अगाडि काम गर्न नदिने भनेर फिर्ता भएका लिमीका ती युवायुवतीहरु चिनीयाँ पक्षले पुनः काम गर्न दिने भएपछि त्यसतर्फ लागेर काम गर्न सुरु गरेका हुन्।
गाउँमा काम नपाईने र खाली बसेर जीविका नचल्ने भएपछि हाल चीनको ताक्लाकोटमा मजदुरी काम गरिरहेको नाम्खा–६ लिमी हल्जीका छिरिङ क्याप तामाङले बताए।
अहिले ताक्लाकोटमा चिनीयाँ पक्षले काम गर्न दिएपछि लिमीका धेरै बेरोजगार युवायुवतीहरु ताक्लाकोटमा काम गरिरहेका छन्। केही समय अगाडी नेपाली कामदारलाई चिनीयाँ पक्षले काम गर्न रोक लगाएको थियो।
हातमा सीप नभएको कारण ताक्लाकोटमा काम गर्ने लिमीका कामदारहरुले ल्हासाबाट आएका मालबाहक गाडीहरुको सामान लोड अनलोड गर्ने, घर, सडक निर्माणदेखि भरिया र इँटा भट्टासम्मको काम गर्दै आएका छन्।
ताक्लाकोटमा काम गर्ने कामदारले एक दिनमा १५० देखि १८० युवानसम्म कमाउने गरेका छन्। उक्त रकम २ हजार ५ सयदेखि तीन हजार नेपाली रुपैयाँ बराबर हो।
पाँच महिनामा एक जना कामदारले चार लाखसम्म कमाई गर्ने गरेका छन्। कमाई राम्रै हुने हुँदा आगामी मंसीर महिना ती कामदारहरुले त्यतै काम गर्नेछन्।
आफ्नै खेतीपातीबाट उत्पादन हुने अन्नले खान पुग्न कठिन हुने भएपछि गाउँका बेरोजगार युवायुवतीहरु छिमेकी देश चीनको ताक्लाकोट काम गर्न ठूलो संख्यामा गएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
२ सय ५० भन्दा बढी युवायुवतीहरु काम गर्न ताक्लाकोट गएको र त्यसमध्ये १ सय २० जना युवती रहेको उनले बताए।
लिमीका तील, हल्जी र जाङ गरि तीन गाउँका १ सय ४६ घरधुरीका अधिकांश घरबाट काम गर्न ताक्लकोट गएका छन्। यसरी ताक्लाकोटमा लिमीबासीका लागि काम गर्न जानु रहर नभएर बाध्यात भएको छ।
यो काम गरेर सबैले हिउँदको लागि दैनिक उपभोग्य सामान देखि लत्ता कपडासम्म सबै व्यवस्था गरेर आगामी मंसीरमा घर फकर्ने अध्यक्ष तामाङले बताए।