
जनकपुरधाम-धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले जनकपुरधाम प्रसिद्ध छ।
प्राचीन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको छ।
जनकपुरका विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेको भएता पनि धेरै पोखरीको अस्तित्व समाप्त भइ सकेको छ भने धेरैको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ।
यहाँ रहेको बिहार कुण्ड, अग्नी कुण्ड, रत्न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रूक्मिनी सर, मुरली सर, राम सर, तेलहा–मरहा, गंगासागर, अरगज्जा पोखरी, दशरथ तलाउ लगायत यहाँ महत्वपूर्ण पोखरीहरू रहेको छ। यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ।
जनकपुरधामको मध्य भागमा रहेको धनुष सागर, गंगासागर र अंगराज सर पोखरीहरूमा महिनाको पूर्णिमा तिथिको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्दछन्।
गंगासागर, धनुषसागर र अंगराजसर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरूले पूजा गर्दछन्। यहाँ पोखरीमा स्नान गर्न नेपालसहित छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।
त्यस्तै जानकी मन्दिरभन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्व छ। जेष्ठ महिनामा हुने गंगा दशहारामा यहाँ तीर्थालुहरू स्नान गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन्। पोखरी र कुण्ड जनकपुरधाममा अधिक मात्रामा रहेकोले जनकपुरधामको माछा नेपालमै प्रख्यात छ।
यहाँको प्रमख व्यवसाय मध्ये एक हो माछापालन। अत्याधिक संख्यामा रहेका पोखरीहरूले वातावरणीय सन्तुलन बनाउनसमेत सहयोग पुर्याइरहेका छन्। अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेको छ।
तर जनकपुरका गंगा सागर, धनुष सागर, अंगराज सागर लगायतका केही पोखरीबाहेक यहाँको अन्य पोखरी सरसफाई नरहेको कारण आफ्नो अस्तित्वनै गुमाउने अवस्थामा पुगेको छ।
पोखरीको सौन्दर्यकरण तथा सरसफाई गर्नुको साटो यहाँको नागरीक यहाँ रहेको पोखरीलाई फोहर मैला तथा नालाको पानीको निकासा गर्ने गरेकोले यहाँको पोखरीहरु दुर्गन्धित हुँदै गएको छ।
स्थानियसहित सम्बन्धित सरोकारवालाले पोखरीको सौन्दर्यकरण तथा सरसफाइप्रति ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिर र पोखरीहरू अब इतिहासमा मात्रै सिमित हुने भएको देखिन्छ।
पोखरीको सौन्दर्यकरण गर्नुको साटो यहाँको पोखरीमा आफ्नो घरको फोहोरमैला लगायत मलमुत्र खन्याउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रोसन साहले बताए। उनले भने, ‘पोखरीको संरक्षण गर्नुको साटो आफ्नो घरको फोहोेर पनि पोखरीमै राखेपछि पोखरीको अस्तित्वनै धरापमा पर्ने अवस्थामा आई सकेको छ।’ पोखरीलाई दुर्गन्धित मात्र नगरेर पोखरीको डिलमाथी अतिक्रमण समेत गर्ने गरेको साहले बताए।
यस्तै जनकपुरधामको अधिकांश पोखरीहरु दुर्गन्धित भएतापनि केही पोखरी यहाँ आउनेहरुलाई लोभ्याउने गरेको छ। कुनै समय दुर्गन्धित अवस्थामा रहेको गंगासागर पोखरीको सरसफाई भएपछि अहिले यो पोखरीमा आउनेहरुको संख्या बढेको छ।
सेभ हिस्टोरीकल जनकपुरका अध्यक्ष एवं प्रदेश सांसद रामअशिष यादवको अगुवाईमा गंगासागर पोखरीको सरसफाई भएपछि यहाँ हुने गरेको महागंगा आरती आकर्षणको केन्द्र बनेको छ।
मानिसको खराब प्रवृतिको कारणले दिनानुदिन पोखरीहरूको अवस्था बिग्रिँदै गएको जनकपुरधाम वडा नं. ५ का रमेश झाले बताए। उनले भने, ‘जब सम्म पोखरीहरू हामी सबैका साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यो सोच नआएसम्म कुनै पनि हालतमा पोखरी सौन्दर्य हुन सक्दैन्।’
यता, पोखरीको सरसफाई तथा सौन्दर्यकरण गर्न खानेपानी तथा सरसफाई मन्त्रालयले उपमहानगरसँग सहकार्य गरेर जनकपुर उपमहानगर परिक्रमा सडकभित्र रहेको पोखरीलाई सौन्दर्यकरण गर्न करिब १ अर्ब बराबरको लागतमा टेन्डर गरेपनि अहिले संघ सरकारले त्यसलाई रद्द गरेको उपप्रमख रिता कुमारी मिश्रले बताइन्।
जनकपुर टाउन प्रोफाइल २०४८ मा उल्लेख भए अनुसार यहाँ अहिले ५८ सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ। जसमध्ये करीब ३३ प्रतिशत पाेखरीले अस्तित्व गुमाइसकेका छन्।