
भारत प्रशासित जम्मू–कश्मीरको राजनीति अवस्था अस्थिरता तर्फ धकेलिएको छ । आइतबार मध्य रात तथा सोमबार बिहानैदेखि राजनीतिक घटनाक्रम तीव्र रुपमा फेरिएका छन् । सरकारले जम्मू–कश्मीरका विपक्षी नेताहरुलाई नजरबन्दमा राख्न थालेको छ ।
नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्ती र जम्मू–कश्मीर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै घरमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीनगरमा रहेका पत्रकार माजिद जहांगीरलाई उद्धृत गर्दै बिबिसी हिन्दीले यी नेता नजरबन्दमा परेको पुष्टि गरेको छ ।
यस्तै स्थानीय सरकारले राजधानी श्रीनगरमा कर्फ्यू जारी गरेको छ । धारा १४४ अनुसार जारी भएको कर्फ्यू अर्को आदेश नआएसम्म कायम रहने बताइएको छ । यो आदेश अनुसार मानिसहरुको आवतजावतमा रोक लागेको छ भने सबै शैक्षिक संस्था पनि बन्द रहने छन् । यस्तै सरकारले श्रीनगरसहित अधिकांश क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
यसअघि उमर अब्दुल्लाले ट्वीट गरेर आफूलाई नजरबन्द गर्न सक्ने आशंका व्यक्त गरेका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘मसहित अरु नेताहरुलाई नजरबन्द गर्ने प्रक्रिया सुरु भएको छ ।’
I believe I’m being placed under house arrest from midnight tonight & the process has already started for other mainstream leaders. No way of knowing if this is true but if it is then I’ll see all of you on the other side of whatever is in store. Allah save us 🙏🏼
— Omar Abdullah (@OmarAbdullah) August 4, 2019
त्यसको जवाफमा कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री शशी थरुरले लेखेका छन्, ‘उमर अब्दुल्ला तपाईँ एक्लै हुनुहुन्न । हरेक लोकतान्त्रिक भारतीय कश्मीरमा मुख्यधारका नेताको साथमा उभिएका छन् । संसदको सत्र चलिरहेको छ र हाम्रो आवाजलाई बन्द गराउन सक्ने छैनन् ।’
You are not alone @OmarAbdullah. Every Indian democrat will stand with the decent mainstream leaders in Kashmir as you face up to whatever the government has in store for our country. Parliament is still in session & our voices will not be stilled. @INCIndia https://t.co/QqGa4EgrP3
— Shashi Tharoor (@ShashiTharoor) August 4, 2019
पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीले ट्वीट गरेर कश्मीरका लागि एकजुट रहने बताएकी छन् । अवस्था मुश्किल रहे पनि आफूहरुको प्रतिबद्धतालाई कसैले तोड्न नसक्ने उनले बताएकी छन् ।
In such difficult times, I’d like to assure our people that come what may, we are in this together & will fight it out. Nothing should break our resolve to strive for what’s rightfully ours.
— Mehbooba Mufti (@MehboobaMufti) August 4, 2019
कश्मीरको पछिल्लो अवस्थाबारे अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रिज (ओआइसी) ले पनि चिन्ता जताएको छ ।
#OIC General Secretariat is deeply concerned about the deteriorating situation in the #Indian occupied #Jammu & #Kashmir including reports of deployment of additional paramilitary forces & use of banned cluster munition by Indian forces to target civilians https://t.co/IeG021wnns
— OIC (@OIC_OCI) August 4, 2019
आर्टिकल ३५ ए र अनुच्छेद ३७० खारेज गर्ने तयारी भएको अड्कलका बिच आइतबार बेलुका जम्मू–कश्मीरका मुख्यधारका राजनीतिक दलका नेताहरुको बैठक श्रीनगरमा बसेको थियो । उनीहरुले राज्यलाई प्राप्त विशेष दर्जा बचाउनका लागि एक हुने प्रतिबद्धता जनाएका छन् ।
जम्मू–कश्मीरमा केही दिनदेखि अवस्था खराब बन्दै गएको छ । सरकारले हिन्दू तिर्थयात्री तथा पर्यटकलाई लक्षित गर्दै सुरक्षा सतर्कता जारी गरेपछि त्यहाँ अन्यौलको अवस्था सिर्जना भएको हो । सरकारले अस्थिरता सिर्जनाका लागि यस्तो गरेको आरोप नेताहरुले लगाउँदै आएका छन् ।