
सिमकोट – दुर्गमको हिमाली जिल्ला हुम्लाका लागि चालु आर्थिक वर्ष ०७६।०७७ का लागि जिल्ला भित्रका डिपो, बिक्री केन्द्र र शाखाका लागि ४९ हजार क्वीन्टल खाद्यान्न माग गरिएको छ ।
जिल्लामा आवश्यक पर्ने खाद्यान्न मागलाई ध्यान दिँदै जिल्ला खाद्य व्यवस्थापन समितिले संस्थानको प्रधान कार्यालयलाई यति धेरै क्वीन्टल खाद्यान्न माग गरेको हो ।
यस अघि सस्थानले ढुवानी अनुदानमा पठाउने खाद्यान्न जिल्लामा अपुग हुने भएपछि अहिले सबैतिरको अध्ययन र सबैसँगको छलफल पछि वास्तबिक आवश्यक खाद्यान्न कोटा पहिचान गरेर संस्थानको प्रधान कार्यालयलाई माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।
जिल्लाको माग अनुसार खाद्यान्न कोटा संस्थानले निर्धारण गरे जिल्लामा खाद्यान्न समस्या नहुने उनको भनाई छ ।
समितिले निक्कै छलफलपछि सिमकोट शाखाका लागि चालु आर्थिक वर्षमा तीस हजार क्वीन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपो र सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिकोको लागि पाँच पाँच हजार क्वीन्टल, चंखेली गाउँपालिकाको देउली र ताँजकोट गाउँपालिकाको छप्रेला डिपोको लागि चार चार हजार क्वीन्टल खाद्यान्न माग गरिएको संस्थानको सिमकोट शाखाका नायब सुब्बा सुरेन्द्र पोखरेलले बताए ।
त्यसै गरि नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रका लागि पाँच हजार र भर्खरै स्थापना भएको खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि चार हजार क्वीन्टल खाद्यान्न जिल्लाबाट माग गरिएको होे ।
जिल्लाका लागि उपलब्ध हुने खाद्यान्न हवाई मार्ग र पैदल मार्गबाट ढुवानी हुने गरेको छ । केही समय अगाडिबाट काठमाडौं केरुङ, हिल्सा, याल्बाङ हुँदै सिमकोट पनि पैदल मार्गबाट पनि खाद्यान्न ढुवानी हुने गरेको छ ।
यो नाकाबाट प्रतिकेजी ८५ रुपियाँमा खाद्यान्न ढुवानी हुने गरेको छ । यता नेपालगञ्जबाट हवाई मार्ग हुँदै प्रतिकेजी १ सय १५ रुपैयाँ र सुर्खेत प्रति केजी एक सय पाँच रुपैयाँमा खाद्यान्न ढुवानी हुने गरेको छ । त्यसै गरि पैदलमार्गबाट सुर्खेत र धनगढीबाट पनि हाल खाद्यान्न ढुवानी हुने गरेको छ ।