
जनकपुरधाम-विवादमै रहदै आएको धनुषाको हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीच कार्यालयलाई लिएर चलिरहेको विवादले हिंसात्मक रुप लिएको छ।
मंगलबार बघचौडामा रहेको नगरपालिकाको साबिक कार्यालयबाट फाइल तथा सामानहरु जबर्जस्ती लिन पुगेका नगर प्रमुख रामज्ञान पक्ष र उउप्रमुख रेणु झा पक्षबीचको विवाद भएपछि सो विवाद उग्र रुप लिएको छ।
विवादले उग्र रुप लिएपछि अवस्थालाई नियन्त्रणमा लिन पुगेको प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। मंगलबार दिउँसो प्रहरीको सहयोगमा नगरपालिकाका प्रमुख रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपपप्रमुख रेणु झा संचालन गर्दै आएको कार्यालयबाट जबरजस्ती कार्यालयका सामानहरु लिन खोज्दा झडप भएको हो।
झडपमा हंसपुर नगरपालिकाका उपप्रमुख झा, हंसपुर नगरपालिका वडा-२ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापर र उपप्रमुखका गाडी चालक पुण्य खत्री लगायतका व्यक्तिहरु प्रहरीको लाठी चार्जबाट घाइते भएका छन्।
घाइते मध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनलाई थप उपचारका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको छ। संचारकर्मीहरुसंग कुरा गर्दै उपप्रमुख झाले प्रमुख मण्डल संग कार्यालय विवादको समाधानका लागि पटक पटक वार्तामा बोलाएपनि उनले नमानेको आरोप लगाइन्।
स्थानीयहरुका अनुसार प्रमुख पक्षधर केही व्यक्ति ग्रील तोडेर सामान लुट्ने प्रयास समेत गरेको आरोप लगाएका छन्।
हंसपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुख राजपा नेपाल पार्टीकै हुन् । पार्टी एक भएपनि दुवै विच एकता रहनुको साटो विवाद नै रहेको छ।