
पोखरा – होटलमा बास बस्ने ग्राहकको अभिलेख नराखेको आरोपमा एक सञ्चालिका पक्राउ परेकी छन् । पोखरा–८ पृथ्वीचोकस्थित होल कोशी एन्ड रितिक रेष्टुरेन्टकी ममतादेवी महतोलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता एवं डिएसपी राजकुमार केसीले महतोले होटलमा बास बस्न आएका ग्राहकको नियमानुसार अभिलेख नराखेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए ।
महतोले होटल व्यवसाय एंव मदिरा बिक्री वितरण (नियन्त्रण) ऐन, २०३३ को दफा ५ उपदफा १ (क) विपरित कसुर अपराध गरेको कास्की प्रहरीको ठहर छ ।
महतोलाई थप कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय पोखरा पठाइएको प्रवक्ता केसीले जानकारी दिए ।
किन पक्राउ परिन् होटल सञ्चालिका?
गत असार १ गते पोखरा १० कान्तिपुरचोक बस्ने २७ वर्षीया लक्ष्मी परियार (नेपाली) को श्रीमानकै सेटिङमा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाको २५ दिनपछि मात्र रहस्य खुल्यो । लक्ष्मीका श्रीमान रमेश नेपालीले उनलाई हत्या गराउन १० लाख तिरेर भारतीय ‘कन्ट्रयाक्ट किलर’ पोखरा झिकाए थिए ।
हत्याका आरोपी चारजना पक्राउ परिसकेका छन् । हत्या योजनामा संलग्न लक्ष्मीका श्रीमान रमेशसहित उनकी बहिनी अनु परियार, रमेशका साथी चिर रञ्जन कुमार शाह र सञ्जय शर्मा प्रहरी हिरासतमा छन् ।
तर, भारतीय नागरिक तीनजना जो लक्ष्मीलाई पोखरा २२ कर्कले जंगलमा घाँटी रेटी हत्या गरेका थिए । उनीहरु पक्राउ पर्न सकेका छैनन् ।
तीनजना हत्या भएको असार १ गतेको अघिल्लो रातदेखि नै पृथ्वीचोकस्थित कोशी होटल एन्ड रितिक रेष्टुरेन्टमा बास बसेका थिए । होटलले उनीहरुको व्यक्तिगत विवरण नराखेको प्रवक्ता केसीले जानकारी दिए ।
होटलले उनीहरुको आवश्यक विवरण नराख्दा व्यवसाय सञ्चालन विपरित सञ्चालिकाले अपराध गरेको कास्की प्रहरीको भनाई छ ।
‘कहाँबाट आएका व्यक्ति कुन प्रयोजनका लागि बास बस्दै छन्’ भन्ने कुरा होटलले नराख्दा अपराध अनुसन्धानमा समस्या देखिएको एक प्रहरी अधिकृतले बताए ।
उक्त हत्या योजनामा नियम विपरित भाडामा लगाइएका रातो प्लेटका सवारी दुई सवारी समेत प्रयोग भएका थिए ।
हल्लनचोकस्थित पोखरा बाइक रेन्ट प्रालिबाट ग ११ प ८००३ नम्बरको होन्डा डियो स्कुटर र नयाँबजारको दीपक कार डेकोरबाट ग १ च २३६३ नम्बरको ‘किया’ कार भाडामा लिइएको थियो । दुवै सवारी अहिले कास्की प्रहरीको नियन्त्रणमा छन् ।
रातो प्लेट सवारी भाडामा लगाउन नपाइने नियम हुँदाहुँदै पनि कास्की प्रहरीले हालसम्म त्यस्ता सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।