
जनकपुरधाम- समुदायिक विद्यालयबाट एसईई उतिर्ण गरेका विद्यार्थीबाट धनुषामा अधिकांश सामुदायिक विद्यालयले प्रमाणपत्र बापत २ हजार रुपैँयासम्म लिएको पाइएको छ।
समुदायिक विद्यालयमा प्रमाण पत्रको दस्तुर बापत मात्र २ सय ५० रुपैँया लिने व्यवस्था रहेतापनि विद्यालयहरुले बिल काटेरै विद्यार्थीसँग मनोमानी रुपमा शुःल्क अशुल गर्दै आएको हो।
निजी विद्यालयहरुमा प्राय बढी शुल्क लिने गरिन्छ तर धनुषामा भने सरकारी विद्यालयहरुमा समेत मनोमानी रुपमा शुल्क लिएको देखिएको छ। यहाँ व्यवस्थापन समितीबाटै निर्णय गरी विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको हो।
विद्यालयले मनोमानी तरिकाले शूल्क अशुली गर्न थालेपछि गरिब तथा विपन्न वर्गका अभिभावकहरु मारमा परेका छन्। केही अभिभावक विद्यालयको मनोमानी सहेर बसेका छन भने केहीले स्थानीय तहमा गुनासो गर्न समेत पुगेका छन्।
तर गुनासो गरेपनि केही विद्यालयमा स्थानीय तहले चिठी काटेका छन भने केहीमा कुनै सुनुवाइ हुन नसकेको अभिभावकहरु बताउँछन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा रहेको शकल भवन कन्या मा.वि.का विद्यार्थी आँचल कुमारी साहलाई प्रमाणपत्रकालागि विद्यालयले २ हजार रुपैँयाको बिल थमाएपछि आइतवार उनका बुवा जनकपुरधाम उपमहानगरपालिकामा गुनासो गर्न पुगेका थिए।
आफ्नो आम्दानी कम भएको कारण पैसा लाग्दैन भनेर छोरीलाई सरकारी विद्यालयमा पढाए पनि विद्यालयले समय समयमा परिक्षा फी, प्रमाण पत्र लगायतको लागि रुपैया लिने गरेको बताए। उनले भने, ‘अहिले नै एसईईको प्रमाणपत्रको लागि २ हजार लिएको छ। यस्तो अवस्थामा आफ्नो आम्दानी कम भएकोले छोराछोरीलाई कसरी पढाउने ?’
अभिभावकको गुनासो सुनेपछि उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मिहिलाल यादवले विद्यालयले विद्यार्थीबाट २ हजार रुपैँयासम्म अशुलेर शोषण गरेको बताए। ‘प्रमाणपत्रकालागि २ सय ५० रुपैँया दस्तुर लाग्ने हो त्यो भन्दा बढी अशुल्न पाइँदैन,’ उनले भने, ‘हामीले कन्या मा.वि. लाई तोकिएको रकम नलिन भनी पत्र काटेर पठाएका छौँ।’ विद्यार्थीले तिरेको बढी शुल्क फिर्ता हुने उपसचिव यादवले दावी गरे।
यता विद्यालयको कुनै आय श्रोत नभएको कारण विद्यार्थीबाट तोकिएको शुल्क भन्दा बढी शुल्क अशुल गर्नुपरेको संकटमोचन मा.वि. जनकपुरका प्रधानाध्यापक बलराम साहले बताए।
विद्यालयको आय श्रोत केही नरहेको तर विद्यालयमा भने वर्षमा लाखौँको बिजुली बिल आउने गरेको, निजि श्रोतबाट शिक्षकहरुलाई राखनु परेकोले तय गरिएकोभन्दा बढि शुल्क लिनु परेको उनले बताए।
जनकपुरधामका प्रायजसो सबै सामुदायिक विद्यालयले मनोमानी रुपमा शुल्क अशुल गरेको पाइएको छ।यस्तै ग्रामीण क्षेत्रका विद्यालय प्रमाणपत्र बापत विद्याथीबाट रु. १५ सय देखि २ हजारसम्म शुल्क अशुल गर्दै आएको छ।
विद्यालयले मनोमानी रुपमा शुल्क असुली गरेको कुनै गुनासो नै नआएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाले जनाएको छ।गुनासो आएपछि विद्यालयले अशुलेको बढी रकम तत्काल फिर्ता गर्न लगाउने इकाई प्रमुख बरखुप्रसाद रजक भनाइ रहेको छ।