जनकपुरधाम- शिक्षा माफियाहरुको दबदबा जनकपुरधाममा समेत रहेको छ। जनकपुरधाममा सञ्चालनमा रहेको एउटा ईन्स्टिच्युटले अबैध रुपमा डिप्लोमाको कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई ठग्दै आएको खुलासा भएको छ।
जनकपुरधाममा सञ्चालित श्रीराम इन्टरनेसनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले अवैध रूपमा डिप्लोमा कक्षा सञ्चालन गरी विद्यार्थी ठग्दै आएको कुराको खुलासा भएको छ। विद्यार्थीलाई जसरी भएपनि शतप्रतिशत परीक्षामा उत्तीर्ण गराउने ग्यारेन्टी लिने प्रतिबद्धता जनाएको कुरा बाहिर आएपछि उक्त अबैध काम बाहिर आएको छ।
नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धन लिएरमात्र डिप्लोमा कक्षा सञ्चालन गर्ने कानुनी व्यस्था छ। तर, उक्त इन्स्टिच्युटले भारतको अरुणाचल युनिभर्सिटीबाट सम्बन्धन लिई सिटिइभिटीबाट समकक्षता गराएको भनी किर्ते कागज देखाउँदै विद्यार्थीलाई ठग्दै आएको खुलेको छ।
ग्रामिन क्षेत्रबाट आउने विद्यार्थीलाई आफ्नो टारगेट गर्दै आएका थिए। सिटिइभिटीले तोकेभन्दा कम शुल्क लिई इन्स्टिच्युटले भर्ना गर्दै आएको थियो। खासगरी ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई कमै शुल्क लिएर पठनपाठन गराउँदै आएको भन्दै ठग्ने गरेको विद्यार्थीहरूको गुनासो छ।
उक्त इन्स्टिच्युटले सिटिइभिटीबाट तोकिएभन्दा ४० प्रतिशतसम्म कम शुल्क लिएर नामाङ्कन गर्ने गरेको पाइएको हो। सिटिइभिटीले प्राविधिक शिक्षा समितिबाट सिट तोकेको हुँदा प्रवेश परिक्षामा उत्तीर्ण हुन नसक्ने कमजोर विद्यार्थीलाई उक्त इन्स्टिच्युटले सात वर्षदेखि यसैगरी ठगी गर्दै आएको थियो।
कलेजले चालू शैक्षिक सत्रमा अहिलेसम्म २५ विद्यार्थीको नामाङ्कन गरेको र करिब २ सय ५० विद्यार्थी अध्ययनरत रहेको कलेजका निर्देशक फिरोज राइनले बताए।
इन्स्टिच्युटले विद्यार्थी पढाइमा जस्तोसुकै कमजोर भए पनि नियममित उपस्थित भई अनुशासित भएर पढाइ गरे विद्यार्थीलाई चोरी गराएर समेत पास गारउने ग्यारेन्टी लिँदै आएको छ। कलेजले आफ्नै भवनमा परीक्षा केन्द्र राखी परिक्षा लिँदै आएको छ।

परिक्षाको बेला एक÷दुई दिन भारतबाट निरीक्षकहरु आएपनि तुरुन्तै नेपाल घुम्न मन पराएकाले उनीहरू परीक्षा हलभित्र नबस्ने गरेको छ।परीक्षा निरीक्षण गर्न युनिभर्सिटिबाट आएका भारतीय निरिक्षकहरूलाई जनकपुरबाट ३० किलोमिटर दुरीमा रहेको बर्दिबासकै कुनै होटल बुक गराइदिने गरेको र उनीहरू तुरन्तै निरीक्षण गरेर घुमघाम गर्न सिन्धुलीलगायत ठाउँ जाने गरेको निर्देशक राइनले भनेको अडियो रकेर्ड बाहिर आएको छ।
यति मात्र नभएर इन्स्टिच्युटले नक्कली प्रमाणपत्र बनाउने काम समेत गर्दै आएको खुलेको छ। नेपालमा परीक्षा उत्तीर्ण गर्न नसक्ने विद्यार्थीलाई इन्स्टिच्युटले रुपैया लिएर भारतबाट नक्कली प्रमाणपत्र बनाइदिने गरेको खुलासा समेत भएको हो।
यता अवैध रूपमा प्राविधिक शिक्षा सञ्चालन गरी विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने संस्थालाई कारबाही हुने सिटिइभिटी प्रदेश २ का निर्देशक नागेन्द्र साहले बताए।
श्रीराम इन्टरनेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीले सिटिइभिटीबाट समकक्षता नगराएको पुष्टि गर्दै उनले यो पूर्णरूपमा अवैध रहेकोले तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए।
यसअघि पनि अवैध रूपमा प्राविधिकतर्फका कक्षा सञ्चालन गर्दै आएका इन्स्टिच्युटलाई सिटिइभिटीले कारबाही गरी बन्द गरिसकेको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाबाट समेत अनुमति नलिई कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटलाई तत्काल कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































