
कावासोती – पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए ।
पुलमा थप क्षति नपुगे काम सुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताए । पुलबाट गाडी गुडाउँदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उनले बताएका छन् । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताए ।
सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रूपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि बिहीबार दुईतर्फी रूपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने कामसमेत गरिने छ । शुक्रबारसम्म डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारदेखि पुल मर्मतको काम सुरु गरिने उनले बताए ।
पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इञ्जिनीयर सुवेदीले बताए । अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो ।
अरुणखोला पुल भाँचिएपछि अहिले सो क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौ लाग्ने गरेको छ । डाइभर्सनको दुवैतर्फ झण्डै पाँच–पाँच किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए ।