
पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दुई दिने प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ।
नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुका लागि गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि पोखरामा सुरु भएको हो।
प्रशिक्षणको उद्घाटन सभापति शेरबहादुर देउवाले गरे। देशभरीमै प्रशिक्षण सञ्चालन गर्ने कांग्रेसको योजना छ। पहिलो कार्यक्रम नै गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
उद्घाटनपछि बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकमा संकट उत्पन्न भएको बताए। लोकतन्त्र बिना समाजवाद खोज्ने सपना नदेख्न प्रधानमन्त्री ओलीले उनको सुझाव छ। ‘प्रधानमन्त्री ओली एकदलीय प्रणाली लागु गर्न खोज्दैछन्। त्यस्तो सपना नदेखे हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले मानवअधिकार आयोग, प्रेसमाथि नियन्त्रण गर्न खोजिरहेको देउवाको आरोप छ। स्वतन्त्र अंगहरुलाई विधेयकमार्फत नियन्त्रण गर्न खोजिरहेकाले त्यसको विरुद्धमा कांग्रेस उत्रिने उनको भनाइ छ। आगामी मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा उम्मेद्वार एउटै हुने हुँदा सबै मिलेर सघाउन आग्रह गरे।
पार्टीप्रति विश्वास बढाउन आफूभित्र रहेका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिए। ‘सिद्धान्तको आधारमा कम्युनिष्टले चुनाव जितेको होइन। संगठनका आधारमा हो,’ उनले भने, ‘कांग्रेसको सिद्धान्त सधैं अग्रस्थानमा छ। संगठन नभएर हो। सुदृढीकरण गर्नसक्नुपर्छ ।’ सिद्धान्तको लडाइँ लडेर अब कम्युनिष्टलाई जनताका अघि नङ्ग्याउनुपर्ने उनले बताए।
गुटबन्दी र व्यक्तिवादी व्यवहारले पार्टी बलियो नभएको समेत उनले सुनाए। देउवा, पौडेल होइन कांग्रेस बनेर आचरणपूर्वक पार्टीलाई ठूलो शक्ति बनाउन उनले आग्रह समेत गरे। उनले पार्टीको १४ औं महाधिवेशन चाडैं गर्नुपर्ने बताए।
पूर्वसभामुख समेत रहेका कांग्रेस नेता तारानाथ रानाभाटले नयाँ अध्यायको थालनी गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए। दुई तिहाइको सरकारले जनतालाई निराश बनाएकाले कांग्रेसले जनताप्रतिको अभिभारा पूरा गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा औषतमा लामै समय लिएका नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आफैंभित्र रहेको चुनौती चिर्न आवश्यक रहेको औल्याए। ‘चुनौती आफैंभित्र छ। हामीमै परिवर्तन हुनु जरुरी छ,’ उनले भने, ‘नयाँ ढंगले एकताबद्ध गरेर जनतामाथि नयाँ आशा पैदा गरौं।’
महाधिवेशन आगामी फागुन भित्र हुनेमा आफू विश्वस्त नरहेको सुनाउँदै सिटौलाले अर्को वर्षसम्म भएपनि गरेर प्रतिक्षित चुनावका लागि तयार भइसक्नुपर्ने बताए। कांग्रेसले गर्नुपर्ने के हो? नीतिगत नेतृत्व गर्ने गरी पहिलो पार्टी बन्न कांग्रेस लाग्नुपर्ने बताए। त्यसअनुरुपको चेतना निर्माण गरी पार्टी उठ्नुपर्ने उनले सुनाए।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले उम्मेद्वारलाई नै हराउन लाग्ने प्रवृत्तिको अन्त्य कांग्रेसमा हुनुपर्ने बताए। ‘३ सय ६४ दिन कांग्रेस हुने, चुनावको एक दिन विपक्षीसँग मिलेर आफ्नै उम्मेद्वार हराउने,’ उनले भने, ‘यस्ता गतिविधि रोक्न प्रशिक्षण आवश्यक छ।
आगामी चुनावमा प्रतिवद्ध भएर लाग्नु पर्यो।’ पार्टीको नीति भन्दा ठूलो व्यक्ति नहुने उनको भनाइ थियो। शुक्रबार सुरु भएको प्रशिक्षण शनिबारसम्म चल्ने छ।