
पोखरा-प्रतिनिधिसभाको २०७४ मंसिरमा सम्पन्न चुनावयता कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता संख्या थप भएको छ।
सरकारले रिक्त रहेको कास्की-२ मा उपनिर्वाचन गराउने घोषणा गरेपछि साउन १६ गतेसम्म अद्यावधिक भएका मतादाता नामावली रुजु गर्दा १ हजार ६ सय १० मतादाता थपिएका हुन्।
जिल्ला निर्वाचन आयोग कास्कीका अनुसार २०७४ मंसिरमा ७० हजार ६ सय ५१ जना योग्य मतादाता थिए।निर्वाचन आयोगमा अन्तिम मतादाता नामावली प्रकाशनका लागि पठाइएको संख्या ७२ हजार २ सय ६१ छ।
केन्द्रबाट अन्तिम मतादाता नामावली प्रकाशन भइसके पश्चात मात्र योग्य मतादाता कति छन् भन्नेबारे यकिन हुने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।
‘सरकारले उपनिर्वाचन गर्ने घोषणा गरेपछि नामावली रुजु गरी माथि पठाएका छौं,’ उनले भने, ‘जिल्ला स्थानान्तरणका लागि निवेदन दिएकासहितको नामावली अन्तिममा आउने हुँदा केही तलमाथि हुन सक्छ ।’
निर्वाचन आयोगले नै मतदानस्थल र केन्द्रको समेत टुंगो लगाउने हुँदा आयोगको निर्णय पर्खेर बसेको उनले बताए। यसअघिको निर्वाचनमा कास्की २ मा ३२ मतदान स्थल र केन्द्र ८२ थिए।
ताप्लेजुङमा गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा कास्की २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका रवीन्द्र अधिकारीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
गएको चुनावमा तत्कालीन एमालेका तर्फबाट रवीन्दले २७ हजार २ सय ७ मतका साथ विजयी भएका थिए।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए।
उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो।खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए।१ स्वतन्त्र सहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो।
११ उम्मेदवारले १ हजार भोट कटाउन सकेनन्।तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए।
कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन्।