
पोखरा-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई रिहाईको माग गर्दै उनका समर्थकले पोखरामा नारा लगाएका छन्।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरे।
झन्डैं २ सयको संख्यामा पृथ्वीचोकमा जम्मा भएका उनका समर्थकहरुले ‘निर्दोष रवि लामिछानेलाई रिहाइ गर, निर्दोषलाई फसाउन पाइदैन’ जस्ता प्लेटकार्ड लिएका थिए।
चौतर्फी जनदबाब दिइ निर्दोष लामिछानेलाई मृत्यु प्रकरणमा फस्न नदिन स्वतःस्फुर्त कार्यक्रम आयोजना भएको उपस्थितहरुले बताएका छन्।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए।
सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्।