
चलचित्र – हजार जुनी सम्म
अवधि – २ घण्टा
विधा – सामाजिक विषयवस्तु
कलाकार – आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, शिवहरि पौडेल, अनुभव रेग्मीसहित।
कथा सुरु हुन्छ सिक्किमबाट, पोखरामा चिकित्साशास्त्र अध्ययनको लागि आएकी ठिटीको इन्ट्रीबाट, पिठ्यूँमा गितार बोकेर स्वस्तिमा बाइक भुटुटु पार्दै आर्यनको गितार पसल पुग्छिन्। गितारको ट्युनिङ मिलाइरहेका आर्यन खोकीले ग्रस्त छन्। सेतै कपाल फुलेका उनको नराम्रो खोकीपछि स्वस्तिमा आर्यनलाई अस्पताल आउन सुझाव दिन्छिन्।
गितारको ‘स्टिङ’ (तार) फेर्न आएकी स्वस्तिमा आर्यनलाई सारै मन पर्छ। उनले आफ्नो छोरा अथर्वलाई बुहारी रोज्छन्। यसपछि उनीहरुको भेट पोखराको एक क्याफेमा पनि हुन्छ, जहाँ रक्सी र चुरोटको लतमा फसेका आर्यनलाई स्वस्तिमाले फेरि अस्पताल आउन आग्रह गर्छिन्।
यता आर्यनले धर्मपुत्र पालेका छोरा अथर्व (अखिलेश प्रधान) ले राहदानी बनाउनको लागि बाबुको नागरिकता र नाताप्रमाणित झिक्न दराज खोल्दा बाबुका पुराना प्रेम पत्र र पुरानो घडी फेला पार्छन्। अनि चलचित्रको वास्तविक कहानीको मेलो सुरु हुन्छ। १४ वर्ष अगाडि सिक्किममा छुटेकी प्रेमिका–माया (प्रियंका कार्की) लाई खोज्न आर्यन पोखराबाट सिक्किम लाग्छन्, दुई लक्का जवान छोरासहित।
यति बिचमा के के हुन्छ, प्रेम कसरी बस्छ, कसरी बिछोड हुन्छ। हराएकी प्रेमिका भेटिन्छिन् कि भेटिन्न् भन्ने थाहा पाउन पूरा चलचित्र नै हेर्नुपर्छ।
अब भने चलचित्रका राम्रा पक्षका बारेमा कुराकानी गरौँ,
- चलचित्र छायांकन गरिएको लोकेशन राम्रो छ। प्राकृतिक सुन्दरलाई चलचित्रले राम्रोसँग उतारेको छ, पोखरा अनि सिक्किमका लोभलाग्दा दृश्यहरु छन्। यात्राका क्रममा देखिएका बाटो, पुलहरु सुन्दर छन्।
- चलचित्रमा ठूलो ओज बोकेका कलाकारहरुले भरिएको भएकोले केहीलाई छोडेर अभिनय राम्रो छ। आर्यन सिग्देल साथीजस्ता बाबु अवतारमा र युवा लक्का जवान बनेको सुहाएका छन्। सञ्चिता लुईँटेल र स्वस्तिमालाई आमा छोरी सुहाएको छ। प्रियंकाको अभिनय सन्तोषजनक छ। हँसाउने चुलबुले पात्र बनेका सलोनले चलचित्रमा रस भरेका छन्।
- चलचित्रमा भएका गीतहरु प्रासंगिक छन्। उदय सोताङ र मनिला सोताङको स्वरले आनन्दित हुन्छ। आयुष केसीको स्वरले पनि चलचित्रमा वजन थपेको छ।
- सिनेम्याटोग्राफी राम्रो छ। ध्वनि, पार्श्व संगीत पनि राम्रो छ।
- राम्रा कलाकारको जमघट गराएर निर्देशक विकासराज आचार्यले चलचित्र श्रृंगार गर्न जुक्ति लगाएका छन्। जे होस्, जात्रैजात्रा पछि प्रदर्शन भएका अरु चलचित्रसँग तुलना गर्ने हो भने यो चलचित्रलाई दर्शकले रुचाउँछन् भन्ने अपेक्षा गर्न सकिन्छ।
किनभने, पर्दामा देखिएका धेरै अनुहारमध्ये कमैले मनमा छाप छोड्छन्। त्यो निरन्तर चलिरह्यो भने अमिट बन्छ। जस्तो भदौ १ गते स्वर्गीय भएकी कलाकार ‘शुभद्रा अधिकारी’ । त्यसपछि कलाकारसँग थाहै नपाई केही अपेक्षा साँचिन्छ। यो दर्शक अनि चलचित्रकर्मी दुवैमा लागु हुन्छ।
दर्शकले चलचित्र हेर्दा ‘कस्तो राम्रो, आहा !’ भन्न चाहन्छन् भने, चलचित्रकर्मी जो निर्माण पक्षसँग सम्बन्धित हुन्छन्, उनीहरुले चलचित्रले लगानी उठाओस् र केही फाइदा होस् भन्ने आशा राख्छन्। यसैकारण ढुक्क हुनकै लागि चलेको कलाकारसँग काम गर्छन्, यही अवसरमा नै हो कतिऔँ ‘लाख पारिश्रमिक कलाकारले लिएको’ भन्ने समाचार पनि सञ्चारमाध्यममा आउने गर्छन्।
अभिनेत्री स्वस्तिमा खड्काले २० लाख पारिश्रमिक लिने हो भने ५० लाखको आम्दानी गराउन सक्ने क्षमता राख्नुपर्छ भनेकी थिइन्। ‘हजार जुनी सम्म’ चलचित्रको प्रोमोसन कार्यक्रममा पनि उनले ‘चलचित्र प्रदर्शन भएपछि मलाई चलचित्रले कति कमायो भन्नेमा चाख लाग्छ, चलचित्र प्रदर्शन पछि दर्शक सँगै निर्माता खुशी भए कि भएनन् भन्नेमा चासो रहन्छ।’ भन्ने अभिव्यक्ति दिइन्, कुरा ठिकै हो।
तर उनले भनेको जस्तो बजारमा चलचित्रले लगानीको दोब्बर कमाउँछ होला त ? त्यसको लागि चलचित्र कस्तो बन्नु पर्ला? अनि राम्रो समीक्षा सँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड पाएको बुलबुलको कमाई उनले भनेको जस्तो छ त ?
अब जाउँ ‘हजार जुनी सम्म’ मा
यसमा नाम कहलिएका कलाकारहरु छन्। आर्यन, स्वस्तिमा, प्रियंका, सञ्चिता, सलोन आफैले चलचित्रलाई एक्लैले लिड गरेका छन्। कति सफल भए, कति भएनन्।
तर, सुरुवात जति सरल छ, अन्त्य उस्तै भद्रगोल। चलचित्रमा धेरैवटा संयोग छ, आर्यनलाई जुन केटी बुहारी बनाउन मन लाग्छ, छोरा अथर्वले रेष्टुरेन्टमा भेट्ने केटी एक हुनु, उनै युवती आर्यनकी प्रेमिका ‘माया’ की दिदीकी छोरी हुनु। सिक्किमका युवतीहरुलाई नेपाली युवाहरुले प्रेम गर्दै छोडेर जानु। यी सबैलाई सामान्य मान्न सकिन्न।
‘नाइ नभन्नु ल’ को पाँच संस्करण बनाइसकेका निर्देशक विकासराज आचार्यले यो चलचित्रलाई ती चलचित्रबाट यसलाई भिन्न बनाउन सकस परेजस्तो देखिन्छ । पटकथालाई जसरी पनि सुन्दर बनाउन प्रयत्न गरिएको छ। सामिप्यराज तिमल्सिना र विकास आफैँले लेखेको पटकथा कमजोर छ। चलचत्रिमा भिलेन देखिएका ‘दिवांकर’ एकैछिन मात्रै देखापर्छन्, हराउँछन्।
सलोनलाई हँसाउने पात्र भनेर देखाइएको छ। आर्यानका दुई धर्मपुत्र छोरा भए पनि अथर्वलाई जसरी सलोनलाई छोरोको रुपमा स्थापित गरेको छैन। उनलाई सहयोगी पात्र बनाइएको छ । अथर्वको सहयोग गर्दै उनले स्वस्तिमालाई मायाको प्रस्ताव राखेको अलि अस्वाभाविक लाग्छ। नव नायक अखिलेश प्रधानले नेपाली डायलग बोल्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ। उनी धेरै नै नयाँ छन्।
छुटेकी प्रेमिका खोज्न जाने कथा सन्तोष सेनको चलचित्र ‘प्रेमगीत–२’ मा पनि छ। चलचित्र धेरै नै सम्पन्न परिवारको कथामा छ, जहाँ समस्या सम्बन्धमा मात्र छन्। पीरमा रक्सी नै पिउनुपर्छ भन्ने सोचलाई चलचित्रले स्थापित मानेको गरेको छ।
भूतपूर्व प्रेमीलाई विवाह समारोहमा गएर थप्पड हान्ने स्वस्तिमाको अभिनय अनि सिक्किमकी हुन् भन्ने कुरा स्थापित गर्न बेला बेलामा ‘अन्त हो’ सहितको डायलग नाटकीय लाग्छ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको प्रगतिका लागि राम्रो स्क्रिप्ट हुनु पर्छ भन्ने बहस चलेको थियो। यी बहसकर्ताले फेरि पनि यो कुरा उठाउलान्।
अन्ततः
शब्दकोष अनुसार चलचित्र भनेको बिजुलीको सहायताबाट रजतपटमा देखाइने चल्ने फिर्ने कथात्मक नाट्य चित्र, सिनेमा हो। यो चलचित्र जस्तै नै छ।