
काठमाडौँ- चुनाव कसरी जित्ने भन्ने टुल्स र तरिकाहरुलाई समेटेर भारतीय लेखक/विश्लेषक शिवम् शंकर सिंहले नेपालमा ‘हाउ टू विन, एन इन्डियन इलेक्शन’ पुस्तक सार्वजनिक गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेखक/विश्लेषक शिवम् शंकर सिंहले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। उनको पुस्तकलाई कांग्रेस नेता शोभाकर पराजुली र पत्रकार चन्द्रकिशोरले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
राजनीतिक चुनाव नजिकिँदै जाँदा नेपालका राजनीतिक नेताहरुलाई चुनाव कसरी जित्ने भन्ने बडो चिन्ता र टाउको दुखाइको विषय बन्ने गरेको बेला यो पुस्तक उपयोग हुने कांग्रेस नेता पराजुलीले बताए।
उनले भने, ‘मैले भारतीय चुनावलाई नजिकबाट आफैँ गएर हेरेको छु। साथै त्यहाँको चुनावको अनुभवलाई समेटेर प्रविधिको प्रयोग कसरी गर्ने लेखिएको हुनाले नेताहरुलाई उपयोगी हुन सक्छ।’
यस्तै पत्रकार चन्द्रकिशोरले भारतीय चुनावको असर नेपालमा पनि पर्ने भएकाले यो पुस्तकले केही असर भने पर्ने र अहिले प्रविधिको प्रयोग महत्वपूर्ण भएकाले नेतृत्वमा आउने चाहने नेताहरु सामाजिक सञ्जालदेखि तथ्याङ्क विश्लेषण गर्न सक्नुपर्ने बताए।
कार्यक्रममा उक्त पुस्तक बारेमा लेखक सिंहले आफू मोदीको चुनावको समयमा उत्तर प्रदेश र आसाममा प्रत्यक्ष रुपमा संलग्न रहेको आधारमा सामाजिक सञ्जाल महत्वपूर्ण भएको दावी गरे। उनले भने, ‘नेपालको चुनावमा पनि सामाजिक सञ्जाल र प्रविधिको प्रभाव पक्कै रहन्छ। यसले पछि मतदातालाइ केही हदसम्म प्रभाव पार्न सक्छ। प्रविधिलाई पन्छाएमा नेताहरुको हार हुन सक्छ।साथै यसको भरपूर प्रयोगले राम्रो ब्राण्ड बन्न पनि सक्छ।’
पुस्तकमा प्रविधिको प्रयोग कसरी गर्ने, राजनीतिकर्मीले दक्ष डाटा विश्लेषक (आइटी कन्सल्ट्यान्ट) राख्नु पर्ने, प्रविधि र तथ्याङको चलखेल र सही सूचना पुर्याउने टुल्सहरुको बारेमा रणनीतिक रुपमा प्रस्तुत गरिएको छ।