
मोरङ– विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको ५२ औँ वार्षीकाेत्सवका अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि गराइने भएको छ।
शनिबार निकालिने रथयात्राको तयारी अन्तिम चरणमा रहेको आयोजक राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ।
मंगलबार राधाकृष्ण मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले रथयात्राका क्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने जानकारी दिए।
समारोह समितिका अनुसार प्रदेश–एक समाजिक विकास मन्त्रालय र स्थानीय व्यवसायीको सहयोगमा करिब १ घण्टाका लागि हेलिकप्टरबाट पुष्पवृष्टिको तयारी भइरहेको छ। हेलिकप्टरले रथयात्राका क्रममा रहेको सडक मार्गमा पुष्पवृष्टि गर्ने योजना रहेको अध्यक्ष ओझाले बताए।
यसक्रममा रथलाई ४ घण्टा २० मिनेटको समयावधीमा स्थानीय तिनपैनी चाेकबाट मुख्य सडक, ट्राफिक चाेक, महेन्द्र चाेक र धरान राजमार्गबाट वरगाछी हुँदै पुनः मन्दिर प्रवेश गराईने बताइएको छ। चार किलोमिटरको दूरीमा रथलाई ४० स्थानमा विश्राम गराईने बताइएको छ।
विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट रथयात्रा निकालिने गरिन्छ। मन्दिर स्थापनासँगै १९८८ सालदेखि युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिएकाे पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको छ।
यस रथयात्राका क्रममा भारतको सीमावर्ती क्षेत्रसँगै, सुनसरी, झापा लगायतका स्थानबाट भक्तजनहरुको उपस्थिति रहने आयोजकको भनाई छ।