
धनगढी-थरुहट-थरुवान संयुक्त संघर्ष समितिले भदौ ७ गतेदेखि टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनलाई शान्तिपूर्ण बनाउने सर्वदलिय बैठकले निर्णय गरेको छ।
बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा थरुहट-थरुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनका क्रममा सम्पूर्ण राजनीतिक दलहरुले शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई सघाउने निर्णण गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार सर्बदलिय बैठकले राष्ट्रिय सम्मेलनमा सहभागि पाहुना तथा प्रतिनिधीका लागि पासको अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ।
साथै बैठकले सम्मेलन अवधीभर टिकापुर क्षेत्रमा मदिरा जन्य पदार्थ विक्रि वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ । बैठकमा सम्मेलनमा लाठी, घरेलु हात हतियार बोक्ने तथा प्रयोग गर्ने जस्ता कार्य नगराउने प्रतिबद्धता समेत आयोजक पक्षले गरेको छ।
सम्मेलन अवधीभर टिकापुर क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न सुरक्षाका सवै उपाय अवलम्बन गर्न सकिने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
सम्मेलन यहि भदौ ७ गते देखि ९ गते सम्म कैलालीको टीकापुरमा हुदैछ। बुधबार नै आयोजक थरुहट÷थरुवान संघर्ष समितिले पत्रकार सम्मेलन गरि सम्मेलनको तयारी पुरा भएको जनाएको छ।