
धनगढी- डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा देखिएको ‘हैजा’ को प्रकोप पानीका कारण फैलिएको बुझिएको छ।
झण्डै एक साता अघिदेखि देखिएको झाडापखाला बढ्दै गएपछि उनीहरुले प्रयोग गर्ने पानीको जाँच गर्दा पानीमा दिसामा पाइने ‘कोलिफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।
उनले भने–‘त्यस गाउँका बासिन्दाले प्रयोग गर्ने पानी जाँच गर्दा खान योग्य छैन, त्यसैका कारण झाडापखाला फैलिएको हो।’ बिरामीहरुको दिसा जाँच गर्दा एक जनामा पोजेटिभ अर्थात हैजा भेटिएको निर्देशक डाक्टर अवस्थीले बताए। उनले भने–‘सबै बिरामीको दिसा जाँच गर्न सकिएको छैन्, अन्यमा पनि पनि हुन सक्छ।’ बिहीवार सम्म बिरामीको संख्या ८१ पुगेको उनले जानकारी दिए।
डाक्टर अबस्थीले भने–‘त्यस क्षेत्रमा स्वास्थ्यकर्मी र औषधीको अभाव हुन दिन्नौं, झाडापखाला नियन्त्रणका लागि पानीको मुल नै सफा गर्न आवश्यक छ ।’
विहीवार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा सहितको टोली पनि उक्त प्रभावित क्षेत्रमा पुगेको छ।
नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर पछि बिहीबार मन्त्री बोहरा सहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो।
हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधि सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
दूषित खानेपानीको कारण हैजा फैलिँदा ती तिन वटा गाउँमा गरि ८१ जना बिरामी परेका छन्। ती सबै बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले बताए।
‘गाउँबाट माथि रहेको मुहान दूषित भएकाले दूषित पानीबाट नै हैजा फैलिएको हो, पानीमा दिशामा पाइने ‘कोलीफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलीएको पाइएको छ’ उनले भने– ‘हैजा हो भन्ने पृष्टी भएकाले अहिले उपचारमा सबैको ध्यान केन्द्रित छ, धेरैलाई उपचार गरेर घर पठाइसकिएको छ।’
प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो। उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरिया भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।
विगत ९ दिन देखि स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा उपचारमा खटिएको परशुराम नगरपालिका स्वास्थ्य शाखाका उप-संयोजक हिक्मत धामीले जानकारी दिए। उनले भने–‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो।हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौँ, स्वास्थ्यकर्मी पनि खटाएका छौँ।’
यससँगै सुदूरपश्चिम प्रदेशका अधिकांश स्वास्थ्य संस्थामा अहिले भाईरल ज्वरो र सामान्य झाडापखालाका बिरामी बढेका छन्। अहिलेको सिजनमा भाईरलका बिरामी स्वभाविक रुपमा हरेक स्वास्थ्य संस्थामा बढेका छन्’ प्रदेश स्वास्थ्य निर्देशक अबस्थीले भने–‘अहिले औषधी अभाव छैन, सामान्य उपचार पछि निको हुन्छ।’