
पोखरा-डेंगुको संक्रमण देखिएको पोखरामा २३ दिन भयो। मुख्यबजार क्षेत्रका वडा ८ र ९ मा बिरामीको संख्या उच्च छ। अस्पतालमा उपचार गराइरहेका सहित पोखरा महानगरका विभिन्न वडाहरुमा २ सय ६ जनामा डेंगुको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको अभिलेखले देखाउँछ।
पूर्णरुपमा नियन्त्रणमा आउन अझै केही महिना लाग्ने निश्चित जस्तै भएको निर्देशनालयका अधिकारी बताउँछन्। प्रकोपको जोखिम उच्च रुपमा देखिरहँदा भने डेंगु परीक्षण गर्ने उपकरणको व्यवस्था गण्डकी प्रदेशकै ठूलो अस्पतालमा नहुँदा उपचार सेवामै समस्या देखिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगु परीक्षण गर्ने डायग्नोसिस (रोग पहिचान) किट नहुँदा उपचारमा झन्झट भएको चिकित्सकले बताएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी सरोकारवालाहरुबीचको अन्तरक्रियामा अस्पतालका डाक्टर लक्ष्मण बास्तोलाले बिरामीलाई स्वास्थ्य संस्थाबाट डायग्नोसिस किटको व्यवस्था नहुँदा असहज भएको सुनाए।
‘डायग्नोसिस किटको व्यवस्था अस्पतालमा छैन,’ उनले भने, ‘बाहिर यहीँ मौका हो भनेर चर्को मूल्य लिने गर्दा बिरामीलाई थप समस्या छ। पहिले जनस्वास्थ्य कार्यालयबाट हुँदै आएका कार्यक्रम अहिले अस्पतालमा आएको भएपनि डायग्नोसिस गर्ने किट नहुँदा उपचारमा समस्या छ।’
डेंगु रोग नियन्त्रण तथा उपचारका लागि हालसम्म सरकारले कुनैपनि प्याकेजको व्यवस्था नगरेको स्वास्थ्य कार्यालय कास्कीका राजेन्द्र घिमिरे बताउँछन्। ‘मलेरियाको डायग्नोसिस टेस्ट गर्ने व्यवस्था स्वास्थ्य कार्यालयमा व्यवस्था छ। तर डेंगुको हिजोपनि थिएन आज पनि छैन्,’ उनले भने, ‘डेंगुको परीक्षण र उपचार अस्पतालबाट नै गर्नुपर्ने देखिन्छ।’
विगत ३ वर्षयता पोखरामा डेंगुको संक्रमण देखिँदै आएपनि उपचार पद्दति सहज बनाउन सरकारी तवरबाट प्रयास थालिएको छैन। गत वर्ष असोजदेखि संक्रमण देखिएको डेंगु पुसमा मात्रै नियन्त्रणमा आएको थियो।
जुनसुकै मौसममा पनि डेंगुको जोखिम देखिन सक्ने हुँदा पूर्वतयारीस्वरुप अस्पतालमा त्यससम्बन्धी उपचारका उपकरण आवश्यक देखिएको सरोकारवालाहरुले आवाज उठाएका छन्।
‘अस्पतालका निर्देशकले ५ सय किट ल्यायौं भन्नुभएको थियो,’ प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ मेडिकल अफिसर डा भोजराज गौतमले भने, ‘पर्वत, स्याङ्जाबाट पनि डायग्नोसिस किटको माग भइरहेको छ। न्यूनतम मूल्य तोकेर भएपनि अधिकतमलाई सेवा दिनुपर्ने हुन्छ।’ डेंगु नियन्त्रण तथा उपचारका लागि राज्यले छुटै कोषको व्यवस्था गरिनुपर्ने समेत उनको भनाइ छ।
संघ सरकार मातहत सञ्चालन हुँदै आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसवर्षमात्रै डायग्नोसिस किटको अभाव भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले जानकारी दिए।
‘पहिले स्वास्थ्य मन्त्रालय हुँदै क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत प्याकेजमा किटको व्यवस्था भएको थियो,’ उनले भने, ‘मैले पनि अस्ति भर्खर थाहा पाए अस्पतालमा किटको अभाव छ भन्ने। अस्पतालबाट व्यवस्थापन गर्ने गरी बिरामीलाई सेवा दिने तयारीमा छौं।’
बिरामीले निजी मेडिकलबाट नै किट खरिद गरिरहनुपरेको छ। बाहिर तिर्नुपर्ने मूल्यभन्दा केही सहुलियत वा निशुल्कसमेत गर्ने गरी प्रदेशले छुट्याएको बजेटमा अस्पतालले किट खरिदका लागि समन्वय गर्ने उनको भनाइ छ। निजीबाट किट खरिद गर्दा बिरामीले १ हजार रुपैयाँ माथि खर्चिनु परेको छ।
डेंगु नियन्त्रण गर्न प्रदेशको २१ लाख बजेट
गण्डकी प्रदेश सरकारले पोखरामा देखिएको डेंगु संक्रमण रोकथाम गर्न २१ लाख रुपैयाँ बजेट निकासा गर्ने भएको छ। सामाजिक विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बुधबारको बैठकले २१ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो।
‘डेंगु नियन्त्रण गर्न मन्त्रालयमार्फत प्रदेश सरकारले बजेटसमेत निकासा गर्ने भएको छ,’ सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘सायद डायग्नोसिस किट खरिदका लागिसमेत बजेटमा समावेश भएको हुनुपर्छ।’
अनियन्त्रित ग्यारेज, कवाडीलाई व्यवस्थित गर्न अनिवार्य भइसकेको हुँदा स्थानीय तहनै तात्नुपर्ने आवश्यकता देखिएको उनले बताइन्। ‘प्रदेश सरकार तलसम्म पुग्न पाउँदैन। स्थानीय तहले नै यसलाई जोडबलका साथ नियन्त्रणमा ध्यान दिनुपर्छ। प्रदेश सरकारले सर्पोट गर्छ,’
घरवरपर भएका फोहोरजन्य वस्तुलाई व्यवस्थित गर्न महानगरले ठोस योजना ल्याउन उनले सुझाव दिइन। प्रदेशले दिने बजेटमा काम गर्दा भत्तामा भन्दा पनि नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री पुनले निर्देशनसमेत दिइन।
पोखरा महानगरको वडा ९ मा अव्यवस्थित बस्ती भएकाले पनि डेंगु नियन्त्रणमा जटिलता थपिएको स्वास्थ्य महाशाखाका हेमन्त पौडेलले बताए।
‘८ सय घरमा खानेपानीमा धारा छैन। ट्यांकरको पानी भण्डारण गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अव्यवस्थित बस्ती र पानीको व्यवस्थापन गर्न सबै निकायले सोच्नुपर्ने देखिन्छ।’
खोज्ने र नष्ट गर्ने अभियानका क्रममा पानी भण्डारण गर्ने भाडाहरु पूर्णरुपमा फ्याँक्न समस्यासमेत देखिएको सहभागिहरुले बताएका थिए। लामोसमयदेखि जमेको सफा पानीमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले फूल पार्ने गर्दछ।
उक्त लामखुट्टेले दिउँसोमा समयमा मानिसलाई टोकेमा डेंगुको प्रकोप बढ्ने गरेको चिकित्सक बताउँछन्।बर्षात्को समयमा पानी जम्ने भाडाहरुमा उक्त लामखुट्टेलाई अनुकूल वातावरण हुने गर्दछ।