
‘जाइरा’ – झगडालु बक्सर केटी, निडर, आँटिली अनि प्रिय श्रीमती। उनका श्रीमान् ‘राओ’ प्रहरी इस्पेक्टर छन्। राओ इमान्दार, साहसी अनि रिसाहा छन्। कामको शिलशिलामा उनको पाला ‘राजा’ सँग पर्छ।
‘राजा’ – गुण्डा। शक्तिको आडमा रहेर अपाराधिक क्रियाकलाप गर्ने व्यक्ति। उसलाई नेतादेखि प्रहरी प्रशासनसम्मको सहयोग छ। राजा यही शक्तिको आडमा मान्छे मार्छ, बलात्कार गर्छ। उसकी गर्ल फेन्ड छिन् ‘बुलेट’, बक्सर हुन्, सुटर पनि। उनी राजालाई सहयोग गर्छिन्।
राओले आफ्नो काममा अवरोध पार्न थालेपछि राजाले उनलाई आफ्नो बाटोबाट हटाउने योजना गर्छन्। राओको बिभत्स हत्या जाइराले आफ्नै आँखाले देख्छिन्।
परिस्थितिले गर्दा उनलाई प्रहरीको न्याय संयन्त्रमा विश्वास रहँदैन।
त्यसपछि उनी राजासँग बदला लिने सोच्छिन्। त्यो पूरा हुन्छ हुँदैन, त्यसका लागि चलचित्र हेर्नुपर्ने हुन्छ।
सवल पक्ष
चलचित्र महिला पात्र केन्द्रमा राखेर बनाइएको छ। यसअघि महिला पात्रमा केन्द्रित चलचित्र ‘बुलबुल’ ले राम्रो समीक्षा पाएको छ। तर व्यापारिक सफलताको लागि महिला प्रमुख केन्द्रमा राख्नु रिस्क लिएको मान्ने गरिन्छ। यो चलचित्रमा ‘जाइरा’ केन्द्रमा छिन्। निर्माताले रिस्क लिएका छन्।
चलचित्रका फाइट सिनहरु हेर्दा पुराना चलचित्रभन्दा भिन्न लाग्छ। नम्रता फूल पावरवुमन भएर प्रस्तुत भएकी छन्।
नम्रताले यहाँ पनि अभिनयमा धेरै मेहनत गरेकी छन्। यो चलचित्रमा उनी अरु चलचित्रमा भन्दा भिन्न देखिए पनि आफ्नो पात्रलाई न्याय गरेकी छन्। उनले यो चलचित्रको लागि तौल घटाउने देखि कपालसम्म काटेकी थिइन्। खेलाडी बन्नका लागि उनले गरेको मेहनत चलचित्रमा देखिन्छ।
राजा- प्रमोद अग्रहरि धेरै बलिया खलपात्रका रुपमा देखिएका छन्। उनको बोलीलाई फरक ढंगबाट प्रस्तुत गरिएको छ। यो चलचित्रले शक्तिको दुरुपयोगलाई चित्रण गरेको छ। अपराधिले शक्तिको आडमा घटनालाई कसरी प्रभावित गर्छ र उम्कन्छ, न्याय प्रणालीलाई कसरी आफ्नो हातमा लिन्छ देखाएको छ।
चलचित्रको मेकिङ राम्रो छ, सम्राट बस्नेतको ‘फाइट निर्देशन’ राम्रो छ।
एउटा घटनाको चौतर्फी असरलाई चलचित्रमा देखाइएको छ। एक पछि अर्को घटनाले चलचित्रलाई बाँधेर राखेको छ।
निर्देशक आशुतोष राज श्रेष्ठको काम पक्का देखिन्छ।
कमजोर पक्ष
ट्रेलरमा नम्रताले भनेकी छन्, ‘आइ डोन्स ट्रस्ट दिस सिस्टम एनि मोर’ भनेकी छन्। तर चलचित्रमा सिस्टम माथि मानिसको विश्वास कसरी उठ्छ भन्ने कुरालाई एकदमै सतही रुपमा देखाइएको छ। चलचित्र हेरिरहँदा लाग्छ, दर्शक पहिले नै जानकार छन्।
चलचित्रमा देखाइएको कतिपय दृष्य संवेदनशील छन्, हातको औँला काटिएको अनि फलामको काँडे तारले घाँटी बानेको । यो दृष्य डरलाग्दा छन्।
धन, शक्ति अनि भिलेन पात्रलाई चुरोट, रक्सी अनि लागूऔषको प्रयोगले दर्शाइएको छ ।
चलचित्र केही दृश्यहरु दक्षिण भारतीय चलचित्रबाट प्रभावित भएको छ जस्तो लाग्छ भने केहीमा कम्फूका झलकहरु देखा पर्छन्। चलचित्रको कथा शुद्ध लाग्दैन।
……..
चलचित्र सक्काउन लाग्दा दर्शकका लागि क्लू छ, चलचित्रको अर्को भाग आउँछ भन्ने। सबै शक्तिशाली व्यक्ति, प्रशासनलाई आफ्नो हातमा लिएका ‘राजा’ सँग लडेकी ‘जाइरा’ ले आफ्नो भनिएका व्यक्तिसँग लडाइ लड्नुपर्ने छ। प्रतिक्षा रहन्छ जाइराले आफ्नैसँग कसरी लडाई लड्छिन्।
चलचित्र ‘जाइरा’
कलाकार– नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर।