
धनगढी-गौरा पर्बका अवसरमा सुदूरपश्चिमका कैलाली सहित विभिन्न जिल्लामा भईरहेका देउडा खेलमा महिला पुरुष दुवैले निर्मला पन्तको हत्याराको खोजी गर्न माग गर्ने गरेका छन्।
बलात्कार पछि हत्या भएकी कंचनपुरकी १३ बर्षिया वालिका निर्मला पन्तका हत्यारा १ बर्ष सम्म पनि पत्ता नलागेको भन्दै महिला हुन या पुरुषले देउडा मार्फत रसरकारको आलोचना संगै ध्यानाकर्षण गर्ने गरेका छन्।
केही दिन यता बिभिन्न ठाउँमा भैरहेका समान्य देउडा खेल देखि प्रतियोगिता सम्ममा निर्मला पन्तको न्यायकै बारेमा चर्चा हुने गरेको छ। उनीहरुले देउडा मार्फत नै निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न सरकार संग माग गरिरहेका छन्।
भदौ ६ गते शुरु भएको गौरा पर्बका अवसरमा भईरहेका महिला महिला बिचका देउडा खेल हुन वा पुरुष पुरुष र महिला पुरुष बिच हुने सामान्य खेल या प्रतियोगिताको अधिकांस समयमा गाईने देउडामा निर्मला पन्तकै चर्चा हुने गरेको छ।
सामान्य महिला देखि कलाकारितामा संलग्न महिला या पुरुष सबैले केही न केही रुपमा आफ्ना देउडामा निर्मला पन्त हत्याको बिषय उठाउने गरेका छन्। मंगलबार धनगढी उपमहानगरले आयोजना गरेको देउडा प्रतियोगितामा एक महिलाले भनिन्-
कै बैरिको हातपात लाग्यो न्यायका भकार
निर्मलालाई न्याय दिलाउ बिन्ति छ सरकार।
आमा भान्छा बस्या पछि आगो भराउदो छ
१ बर्ष २ महिना भैग्या आत्मा कराउदो छ।
यस्ता यस्तै सरकारलाई दवाव दिने र न्याय नपाएर पिडा भएको महशुस सहितका भावना देउडा मार्फत महिलाले पोख्ने गरेका छन् । पछिल्लो ४ दिन यता मात्र धनगढीमा दिनै पिच्छे देउडा खेल हुने गरेका छन्। गौराको अवसर पारि महिलाको अलग्गै, पुरुषको अलग्गै र महिला पुरुषको मिक्स देउडा खेल अलग अलक ठाउँमा भईरहेका छन्।
गत बर्षहरुमा हुने देउडामा माया पिरतीका भावना झल्कने देउडाहरु गाईने गरेको थियो तर यस पटकको देउडामा भने निर्मला पन्त संगै अन्य पीडित महिलाका बेदना झल्कने भावना महिलाहरुले देउडा मार्फत पोख्ने गरेका छन् । यस संगै महिला पुरुष बिच भईरहेका देउडा दोहोरीमा पनि न्यायकै बारेमा सवाल जवाफ हुने गरेका छन्।
०००
‘हाम्रै छिमेकी जिल्लामा १३ बर्षिय वालिका बलात्कार भई हत्या भएको एक बर्ष भयो तर हत्यारा पत्ता लागेको छैन’ स्थानीय गायिका माया पाण्डेले भनिन्–‘हाम्रा पिडा र निर्मलाका हत्यारा खोज्ने बिषय प्रमुख भएकाले हरेक महिलाका मनमा यो पिडा छ र देउडामा पोख्छौ ।’ उनले देउडामा यसरी भावना पोख्दा थोरै भएपनि राज्यलाई पनि दवाव पुग्ने बताइन्।
यस्तै शिक्षण पेशमा कार्यरत देउडामा रुचि राख्ने स्थानीय महिला जयलक्ष्मी जोशीले भनिन्–‘ निर्मला पन्तले न्याय पाउन सकेकी छैनन्, महिलाहरुका मनमा धेरै पिडा छ, देउडा मार्फत यी पिडा पोख्दा महिलालाई मनमा केही हलुको भएको महशुस हुन्छ ।’ साथै उनले देउडाले रमाईलो संगै महिला हिंसा न्युनिकरणमा समेत योगदान दिने बताइन्।
गौराकै अबसरमा आयोजना भईरहेका देउडा प्रतियोगितामा प्रतियोगितामा पनि निर्मला पन्त हत्या प्रकरण र महिला हिंसाले प्राथमिकता पाउने गरेको छ। विभिन्न संस्थाले आयोजना गरिरहेका प्रतियोगितामा सहभागि महिला वा पुरुष सबैले यहि बिषयलाई नै प्राथमिकताका साथ देउडामा उठाउने गरेको स्थानीय कलाकार सुरत राउत‘डोटेली कान्छा’ले बताए।
उनले भने–‘चाडपर्बमा खेलिने देउडा होस या या कसैले आयोजना गर्ने प्रतियोगिता होस सबैमा केही न केही रुपमा निर्मला पन्त हत्या प्रकरणले स्थान पाइरहेको छ।’
०००