
जनकपुरधाम – पछिल्लो समय धनुषामा सवारी चालक अनुमति पत्र बनाउने दलालहरुको विगविगि बढेको छ । लाइसेन्स बनाई दिन्छु भनि ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ११ का २५ वर्षीय जितेन्द्र यादव र महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. २ का २८ वर्षीय पंकज कुमार सिंह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
गत सोमवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ज्ञानकुप संस्कृत माध्यामिक विद्यालयको फिल्डमा मोटरसाइकलको ट्रायल चलिरहेको समय सर्वसाधारणलाई मोटरसाइकलको ट्रायल परीक्षा पास गराई दिन्छु भनि धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६ बस्ने देवेन्द्र प्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिका वडा नं. १० बस्ने अरुण कुमार पंजियारसँग ७ हजार ठगी गरेको उजुरीको आधारमा जितेन्द्र यादवलाई ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए ।
त्यस्तै जितेन्द्र यादवले १० जनाको लाइसेन्स बनाईदिन महोत्तरीका पंकज कुमार सिंहलाई १ लाख ५१ हजार को एनआईसीको बैँकको चेक दिएको बयानको आधारमा पंकजलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए ।